माओवादी बागमती प्रदेश अध्यक्षमा पौडेल निर्वाचित
नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेश समिति अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन्।
गएराति भएको चुनावमा प्रतिस्पर्धी दीनानाथ गौतमलाई पराजित गर्दै उनी अध्यक्ष बनेका हुन्। पौडेलले १६२ मत पाए भने गौतमले ८६ मत पाएको माओवादी बागमती प्रदेश निर्वाचन समितिले जनाएको छ।
त्यस्तै, उपाध्यक्षमा रूपा महर्जन, रामप्रसाद ढुङ्गाना र प्रेमबहादुर पुलामी निर्वाचित भएका छन्। सचिवमा इन्द्रबहादुर थिङ तथा सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन्। कोषाध्यक्षमा सङ्गीता भट्टराई निर्वाचित भएकी छन्।
माओवादीको प्रदेश समितिमा नौ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ। प्रदेश समितिका सदस्यले नै पदाधिकारीका लागि मतदान गर्छन्।
यसअघि भएका अधिवेशनमा गण्डकी प्रदेशको अध्यक्षमा गायत्री गुरुङ, कर्णाली प्रदेशको अध्यक्षमा विमला केसी तथा उपत्यका विशेष प्रदेशको अध्यक्षमा जगत सिंखडा र सम्पर्क समन्वय प्रदेशको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन भइसकेका छन्।
माओवादीले २५ मंसीरमा एकै पटक सबै प्रदेशमा अधिवेशन गरेको थियो। केही प्रदेशमा सर्वसम्मत नेतृत्व चयन भएको थियो भने केहीमा बाँकी छ। प्रदेश १, प्रदेश २, लुम्बिनी, सुदूरपश्चिम र प्रवास समितिमा पदाधिकारी चयन गर्न बाँकी छ।
माओवादीले सेल, टोल, वडा, शाखा, महाशाखा, स्थानीय तह र प्रदेश सम्मेलन सम्पन्न गरिसकेको छ। अब ११ देखि १३ पुससम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन हुने तय गरिएको छ।