केन्द्रीय सदस्यमा रंगमती शाहीले बढाइन् मत, २०६५ मत गन्दा कसको कति?
नेपाली कांग्रेसको खुला महिलातर्फ केन्द्रीय सदस्यमा रंगमती शाहीले मत बढाएर नौभित्र पुगेकी छन् भने अन्य उम्मेदवारको क्रम यथावत् छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, सोमबार साँझ ५ बजेसम्म २०६५ मतगणना हुँदा सांसद शाही १५औंबाट नवौं नम्बरमा आएकी हुन्। उनले ७८० मत पाएकी छन्।
शुरूआतदेखि नै कांग्रेस नेत्री डिला संग्रौला पहिलो नम्बरमै छिन्। संग्रौलाले १२६८ मत पाएकी छन्।
त्यस्तै, दोस्रो नम्बरमा पुष्पा भुसाल रहेकी छन्। उनले ११९६ मत प्राप्त गरेकी छन्।
आरजु राणा तेस्रो नम्बरमा छिन्। उनले १११६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ। त्यस्तै, चौथो नम्बरमा ९९८ मत सहित अम्बिका बस्नेत छन्।
पाँचौं नम्बरमा रहेकी ईश्वरी न्यौपानेले ९८५ मत पाएकी छन् भने छैटौं नम्बरमा रहेकी सरिता प्रसाईंले ९४९ मत प्राप्त गरेकी छन्। अहिलेसम्म नौ जनाभित्र रहेका रमा कोइरालाले ८१३ र सुशीला ढकालले ७९४ मत पाएका छन्।
यसअघि नौ नम्बरमा रहेकी अनिता देवकोटा भने दशौं नम्बरमा झरेकी छन्। उनले ७७४ मत पाएकी छन्।
कांग्रेसको खुला महिलाबाट नौ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। यसका लागि ३० जना प्रतिस्पर्धामा छन्।