सल्लाहकार परिषद् सदस्य बनाइएकोमा भीम रावलको आपत्ति
नेकपा (एमाले) नेता भीम रावलले केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएकोमा आपत्ति जनाएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ राख्दै रावलले यसलाई टीके प्रणाली भनेका छन्। “मलाई नेकपा (एमाले) को केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो,” रावलले भनेका छन्, “यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ।”
एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा रावलले अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए। अध्यक्ष पराजित भएपछि उनले केन्द्रीय सदस्यमा बस्न पनि अस्वीकार गरेका थिए।
त्यसपछि अध्यक्ष केपी शर्मा ओलीले रावललाई केन्द्रीय सल्लाहकार परिषद्को सदस्यमा बनाएको एमाले महासचिव ईश्वर पोखरेल जानकारी दिएका थिए। परिषद्को संयोजकमा अमृतकुमार बोहरा छन्।
सल्लाहकार परिषद् सदस्य बनाउने निर्णयप्रति रावलले आपत्ति जनाएका हुन्। उनले यो लोकतान्तिक मान्यताको विपरीत भएको जिकिर गरेका छन्। रावलले भनेका छन्, “यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ।”