एमालेले देशभर पार्टी प्रवेश अभियान सञ्चालन गर्ने
नेकपा (एमाले)ले राजनीतिक जागरण अभियानका रूपमा देशभर पार्टी प्रवेश अभियान सञ्चालन गर्ने भएको छ।
देश राजनीतिक रूपमा दुई ध्रुवमा विभाजन भएको एमालेको निष्कर्ष छ। जस अनुसार, एउटा ध्रुवको नेतृत्व प्रधानमन्त्री शेरबहादुर देउवा तथा पाँच दलीय गठबन्धनले गर्ने र अर्को ध्रुवको नेतृत्व केपी शर्मा ओलीले गरेका छन्।
“कुन ध्रुव्रले राष्ट्र विकास र समृद्धिको नेतृत्व गर्न सक्छ भन्ने विषयमा एमालेको अपरिहार्यताको विषयलाई जनतामा स्थापित गर्न चाहन्छौं,” एमालेको दशौं महाधिवेशनबाट महासचिवमा निर्वाचित भएपछि पहिलो पटक पत्रकार सम्मेलनमा आफ्ना धारणा राख्दै महासचिव शंकर पोखरेलले भने, “स्थानीय, प्रदेश र प्रतिनिधि सभाको चुनावबाट बहुमत प्राप्त पार्टीका रूपमा एमालेलाई स्थापित गर्न चाहन्छौं।”
चुनावलाई लक्षित गरेर पार्टी प्रवेश अभियान सञ्चालन गर्न लागेको एमालेले पहिलो प्राथमिकता सङ्गठनलाई व्यवस्थित गर्ने रहेको जनाएको छ। नेकपाको समयमा सङ्गठनात्मक संरचना खलबलिन पुगेको एमालेको निष्कर्ष छ।
वामपन्थी राजनीति आन्दोलनभित्र अवसरवाद चुनौतीका रूपमा रहेको एमालेको विश्लेषण छ। दक्षिणपन्थी अवसरवाद विरुद्धको वैचारिक सङ्घर्ष यति वेला महत्त्वपूर्ण रहेको र त्यसका विरुद्ध विजय प्राप्त गर्न सके मात्र राजनीतिलाई सही ढङ्गबाट अघि बढाउन सकिने एमालेको ठम्याइ छ।
“परिवर्तनपछि राजनीतिक शक्तिहरूबीच द्वन्द्व सिर्जना हुँदा र बलियो राजनीतिक शक्तिको निर्माण नहुँदा सामाजिक अराजकतावाद देखापरेको छ। त्यसले सङ्गठनात्मक स्वरूपको अराजकता ग्रहण गरेको छ,” पत्रकार सम्मेलनमा पोखरेलले भने, “राजनीतिलाई शुद्धीकरण र अनुशासित बनाउन र व्यवस्थित गर्न आवश्यक छ, त्यसैले राजनीतिलाई व्यवस्थित गर्ने कार्यभार तय गरेका छौं।”
जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार तयार गर्ने कुरालाई एमालेले राजनीतिक कार्यदिशाको मुख्य विषय बनाएको छ। जसका माध्यमबाट नेपाली जनताको विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने विश्वास एमालेको छ। त्यसैलाई आत्मसात् गर्दै ओली नेतृत्वको सरकारको पालामा विकास निर्माण र राष्ट्रिय स्वाभिमान तथा स्वाधीनताको पक्षमा काम अघि बढाएको पोखरेलको भनाइ थियो।
‘हामीमाथि प्रहार भयो’
मुलुकमा देखापरेका अस्थिरता र अराजकताको अन्त्य गर्दै मुलुकलाई दिगो विकासको बाटोमा हिंडाउन गरेको प्रयासले एमाले र त्यसको नेतृत्वप्रति आकर्षण बढेको एमालेको निष्कर्ष छ। पार्टी र नेतृत्वप्रति आकर्षण बढेपछि त्यसका विरुद्ध मोर्चाबन्दी तथा घेराबन्दी गरेर प्रहार गर्ने प्रवृत्ति देखा परेको महासचिव पोखरेलको जिकिर थियो।
“यो प्रवृत्ति विरुद्धको लडाइँबाट नै नेपालको राष्ट्र निर्माणको आधार तयार गर्न सक्छौं। हामी विरुद्ध भइरहेका प्रहार जनताका पक्षमा, राष्ट्रका पक्षमा हामीले गरेका राम्रा कामका परिणामको रूपमा लिनुपर्दछ,” पत्रकार सम्मेलनमा पोखरेलले भने, “हामीले सरकारको नेतृत्व गर्दा जनताले गर्व गर्न सक्ने अवस्था सिर्जना भएको थियो। हामीमाथि भएको प्रहारलाई त्यसका विरुद्ध बुझ्नुपर्दछ।”
संविधान निर्माणको प्रक्रियालाई रोकेर नियन्त्रित अस्थिरता सिर्जना गर्ने प्रवृत्तिका विरुद्ध संविधान जारी गरेर विजयी हासिल गरेको, संविधान कार्यान्वयन गर्दा विभिन्न अवरोधहरूलाई चिरेर अगाडि बढ्दा अस्थिरता चाहने शक्तिलाई चुनौती खडा भएको र त्यसपछि एमालेमाथि प्रहार शुरू भएको पोखरेलको भनाइ छ।
एमाले र एमसीसी
अमेरिकी सहयोग परियोजना एमसीसी संसद्बाट पारित गर्ने विषयमा सत्तारूढ दलबीच सहमति बन्न सकेको छैन। तर, प्रमुख प्रतिपक्षी दल एमालेले यस विषयमा भने अहिलेसम्म आफ्नो धारणा सार्वजनिक गरेको छैन। एमसीसीबारे सरकारले के गर्छ भन्ने विषय नै अहिले टुङ्गो नलागेको, त्यसलाई सरकारले कार्यसूचीमा नराखेको र औपचारिक रूपमा पार्टीलाई कुनै जानकारी नगराएको पोखरेलको भनाइ छ।
पार्टीबाट कारबाही गरेका सांसदको सूचना टाँस गर्नुपर्नेमा त्यो नगरेर सभामुखले षड्यन्त्र गरेको उनको भनाइ थियो। त्यसैले सभामुखले राजीनामा दिनुपर्ने उनले बताए। “आफूले गरेको गलत काम नसच्याउने हो भने सभामुखले नैतिकताका आधारमा राजीनामा दिनुपर्यो। संसद् चलाउने कर्तव्य उहाँको पनि हो। त्यस अर्थमा राजीनामा दिएर मार्गप्रशस्त गर्ने हो भने नयाँ प्रक्रियाको शुरूआत हुन्छ,” पोखरेलले भने।