एमसीसी बोर्ड बैठकमा नेपालबारे समीक्षा, अमेरिकाले अझै कुर्ने
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बोर्ड बैठकले नेपालमा परियोजना कार्यान्वयनको प्रगतिका विषयमा छलफल गरेको छ।
एमसीसीद्वारा बुधबार जारी गरिएको विज्ञप्तिमा बोर्ड बैठकमा नेपालमा परियोजना कार्यान्वयनको अवस्था र प्रगतिका बारेमा छलफल गरिएको उल्लेख छ।
गत महीना नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एमसीसीको बोर्ड बैठकको अजेन्डामध्ये नेपालसँग चार वर्ष पहिले गरिएको सम्झौताको कार्यान्वयनको प्रगतिबारे छलफल गर्नु पनि एक रहेको बताएका थिए।
अमेरिकी विदेशमन्त्री एन्थोनी जे. ब्लिन्केन एमसीसीको बोर्डमा अध्यक्ष छन्। बैठकले नेपाल सरकारले सम्झौतालाई संसद्बाट अनुमोदन गर्न प्रतिबद्धता जनाएको र निकट भविष्यमै यो कार्यान्वयनमा जाने अपेक्षा गरेको विज्ञप्तिमा उल्लेख छ।
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँग उच्च राजनीतिक नेतृत्वले एमसीसी कार्यान्वयनमा लैजान आफूहरू तयार रहेको बताएको थियो। संसद्बाट यो सम्झौता अनुमोदन नहुँदासम्म परियोजना कार्यान्वयनमा जाँदैन। सम्झौता अनुमोदनका विषयमा गठबन्धनमा रहेका सत्तारूढ दलहरूबीच नै मतैक्य छैन।