स्मृति इरानीको काँधमा कार्यकर्ताको शव
भारतीय लोकसभा निर्वाचनमा भारतीय कांग्रेस पार्टीका अध्यक्षलाई पराजित गर्ने भाजपाकी उम्मेदवार स्मृति इरानी कार्यकर्ता मारिएपछि शव बोकेर मसानघाटसम्म पुगेकी छन् ।
आफूलाई निर्वाचनमा जिताउन ठूलो सहयोग गर्ने कार्यकर्ता मारिएपछि इरानी आइतबार अन्य कार्यक्रम रद्द गरी राजधानी दिल्लीबाट अमेठी पुगेकी हुन् ।
शनिबार राति अज्ञात समूहले गोली हानी मारिएका सुरेन्द्र सिंह इरानीको चुनाव प्रचारका बेला हरेक कार्यक्रममा सँगै रहेर सहयोग गरेको बताइन्छ ।
गाउँका पूर्वप्रधानसमेत रहेका सुरेन्द्र सिंहको ठूलाे सहयोगले इरानीलाई अमेठी क्षेत्र जित्न सहयाेग गरेको बताइन्छ।
उत्तरप्रदेशको अमेठी निर्वाचन क्षेत्र कांग्रेस पार्टीको पैत्रिक गढको रुपमा चिनिन्थ्यो ।
इरानीले सिंहकै घरमा गएर पत्नी, छाेराछाेरीहरु, तथा आफन्तलाई भेटेर ‘अब यो परिवार मेरो जिम्मा हो’ भनी सान्त्वनासमेत दिएको बताइएको छ ।
ठूलो जनमत रहेका पूर्वप्रधान कांग्रेस छाडेर बीजेपीको प्रचारमा लागेकाले उनको हत्या भएको हुन सक्ने भारतीय समाचारमा जनाइएको छ । –एजेन्सी