अर्थतन्त्रमा गहिरिंदै सङ्कट, एकै महीनामा विदेशी विनिमय सञ्चिति रु. ७४ अर्बले घट्यो
देशको ध्यान राजनीतिक दलहरूको महाधिवेशनमा केन्द्रित भइरहेका वेला अर्थतन्त्रमा भने संकट गहिरिंदै गएको देखिएको छ।
नेपाल राष्ट्र ब्यांकले बुधबार सार्वजनिक गरेको कात्तिक महीनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले अर्थतन्त्रका कैयौं सूचक नकारात्मक रहेको देखाएको छ। देशको विदेशी विनिमयको सञ्चिति लगातार घटिरहेको छ भने शोधनान्तर स्थिति र चालू खाताको घाटा थप बढेको छ। देशको अर्थतन्त्रलाई टेको दिंदै आएको रेमिटेन्स पनि घटेको छ। बरु, एकाध वर्ष सन्तुलनमा रहेको उपभोक्ता मूल्यवृद्धि थप चर्किएको छ।
तथ्याङ्क अनुसार, चालू आर्थिक वर्षको कात्तिकमा विदेशी विनिमयको सञ्चिति १० अर्ब ४७ करोड डलर बराबरमा ओर्लिएको छ, जुन असोजका तुलनामा ५१ करोड डलर कम हो। असोजमा नेपालसँग १० अर्ब ९८ करोड बराबरको डलर सञ्चिति थियो। नेपाली मुद्रामा डलर सञ्चिति एकै महीनामा रु.७४ अर्ब ४७ करोडले घटेको छ। असोजमा रु.१३ खर्ब १९ अर्ब ३२ करोड रहेको डलरको सञ्चिति कात्तिकमा रु.१२ खर्ब ४४ अर्ब ८५ करोडमा झरेको छ। विदेशी विनिमयको भण्डार घट्दै जाँदा देशले विदेशबाट वस्तु तथा सेवा आयात गर्ने क्षमता गुमाउँदै जान्छ। यसले वैदेशिक लगानीलाई पनि निरुत्साहन गर्छ।
आयात अचाक्ली बढ्दा देशले बाह्य क्षेत्रमा ठूलो चाप व्यहोरिरहेको छ। कात्तिकमा शोधनान्तर स्थिति (देशमा भित्रिने र बाहिरिने रकमबीचको अन्तर) रु.१ खर्ब ५० अर्ब ३८ करोडले नोक्सानीमा पुगेको छ।
कात्तिकमा भएको विदेशी विनिमयको सञ्चितिले सात महीना ६ दिनको वस्तु तथा सेवा आयात गर्न पुग्छ। २०७७ पुस मसान्तमा नेपालको विदेशी मुद्रा सञ्चिति १२ अर्ब ७८ करोड डलर पुगेको थियो। त्यसयता आयात बढेका कारण विदेशी विनिमयको सञ्चिति ओरालो लाग्दै गएको छ।
आयात अचाक्ली बढ्दा देशले बाह्य क्षेत्रमा ठूलो चाप व्यहोरिरहेको छ। कात्तिकमा शोधनान्तर स्थिति (देशमा भित्रिने र बाहिरिने रकमबीचको अन्तर) रु.१ खर्ब ५० अर्ब ३८ करोडले नोक्सानीमा पुगेको छ। असोजमा यस्तो घाटा रु. ७६ अर्ब १४ करोड थियो। अर्थात्, एकै महीनाका बीच शोधनान्तर स्थितिको घाटा दोब्बर भएको छ।
चालू खाताको घाटा पनि रु.२ खर्ब २३ अर्ब १९ करोड पुगेको छ। गत वर्षको यही अवधिमा देशको चालू खाता रु.१९ अर्ब १ करोडले बचतमा थियो। शोधनान्तर र चालू खाता देशको अर्थतन्त्रको सबलता नाप्ने सूचक पनि हुन्।
तथ्याङ्क अनुसार, देशको अर्थतन्त्रको टेको मानिने रेमिटेन्सको आप्रवाह ७.७ प्रतिशत (डलरमा ७.८ प्रतिशत) ले घटेको छ। कात्तिकसम्म रु.३ खर्ब १२ अर्ब ४२ करोड रेमिटेन्स भित्रिएको छ। यो अघिल्लो वर्षको तुलनामा घटेको हो। कोभिड–१९ को प्रभाव अघिल्लो वर्षको तुलनामा मत्थर भइसक्दा पनि रेमिटेन्स झनै खस्किन पुगेको छ। असोजमा पनि रेमिटेन्स ७.६ प्रतिशतले घटेको थियो।
चालू आर्थिक वर्षको कात्तिकसम्म नेपालले रु.८२ अर्ब १२ करोडको वस्तु निर्यात गरेको छ भने रु.६ खर्ब ५० अर्ब २९ करोडको वस्तु आयात गरेको छ।
चालू आर्थिक वर्षको कात्तिकसम्ममा वैदेशिक व्यापारमा देशले रु. ५ खर्ब ६८ अर्ब १७ करोड घाटा व्यहोरेको छ। यो अघिल्लो वर्षको तुलनामा ५६.८ प्रतिशत बढी हो। यद्यपि, असोजको तुलनामा व्यापार घाटामा सामान्य कमी आएको छ। असोजमा व्यापार घाटा अघिल्लो वर्षको तुलनामा ५८.३ प्रतिशतले बढेको थियो।
कात्तिकसम्ममा नेपालले रु.८२ अर्ब १२ करोडको वस्तु निर्यात गरेको छ भने रु.६ खर्ब ५० अर्ब २९ करोडको वस्तु आयात गरेको छ।
अर्कातिर, देशभित्रको उपभोक्ता मूल्यवृद्धि पनि चुलिंदै गएको तथ्याङ्कले देखाउँछ। कात्तिकमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्यवृद्धि ५.३२ प्रतिशत पुगेको छ। यो अघिल्लो वर्षको यही अवधिमा ४.०५ प्रतिशतमा सीमित थियो। असोजमा पनि मूल्यवृद्धि ४.२४ प्रतिशत मात्र थियो। यसले बजारमा मूल्यवृद्धि बढ्न थालेको सङ्केत गर्छ।
कात्तिकमा सबैभन्दा धेरै घ्यूतेलको मूल्य २९.११ प्रतिशत, यातायातको मूल्य १२.३६ प्रतिशतले बढेको छ। त्यसै गरी, माछामासुको मूल्य १०.९१ प्रतिशत तथा दाल तथा गेडागुडीको मूल्य १०.२४ प्रतिशत बढेको छ।
यता विकास लक्षित सरकारी खर्च भने झनै घटिरहेको छ। कात्तिकसम्ममा सरकारले विकासका लागि छुट्याएको पूँजीगत खर्चमध्ये रु. २० अर्ब ७९ करोड मात्रै खर्च गरेको छ। यो अघिल्लो वर्षको यही अवधिका तुलनामा २९.४ प्रतिशत थोरै हो। सरकारी पूँजीगत खर्च नहुनुले विकासका क्रियाकलापमा शिथिलता आएको सङ्केत गर्छ।