पूँजी बजारबारे माओवादी अध्यक्ष दाहालको अभिव्यक्ति आपत्तिजनक : विवेकशील साझा
विवेकशील साझा पार्टीले पूँजी बजारबारे नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले शनिबार गरेको टिप्पणीको आलोचना गरेको छ।
विवेकशील साझा पार्टीले सोमबार विज्ञप्ति जारी गर्दै अर्थतन्त्रको अत्यन्तै संवेदनशील क्षेत्र मानिने पूँजी बजारलाई उत्तेजित गराउने तथा बजारमा गलत सन्देश जाने गरी उच्च राजनीतिक नेतृत्वबाट आएको अभिव्यक्ति आपत्तिजनक रहेको जनाएको हो।
“विगतमा दुई पटक मुलुकको शासन सत्ताको बागडोर सम्हालिसकेका र वर्तमान सत्ता गठबन्धनमा अर्थ मन्त्रालय समेतको नेतृत्व गरेको पार्टी नेकपा (माओवादी केन्द्र) का अध्यक्षले धितोपत्र बोर्ड साम्राज्यवादको विकसित रूप भनी दिनुभएको अभिव्यक्ति पूर्णतः गैह्र जिम्मेवारपूर्ण र अनुत्तरदायी रहेको ठहर गर्दै विवेकशील साझा पार्टी त्यसप्रति खेद व्यक्त गर्दछ,” विज्ञप्तिमा भनिएको छ।
अध्यक्ष दाहालले धितोपत्र बजारलाई साम्राज्यवादको विकसित रुप भएकाले यसलाई निस्तेज गर्नुपर्ने बताएका थिए। पूँजी बजारका विषयमा वामपन्थी पृष्ठभूमिका नेताहरूबाट पटक पटक असहिष्णु टिप्पणी सार्वजनिक हुँदै आएको छ।
विवेकशील साझा पार्टीले बजारको मनोविज्ञानलाई राजनीतिक नेतृत्वको अभिव्यक्तिले कस्तो असर पार्छ भन्ने कुराको गहिरो हेक्का नराख्नु उनीहरूमा रहेको अल्पज्ञान र सङ्कुचित सोचाइको उपज भएको जनाएको छ। पूँजी बजार कुनै बाह्य प्रभावविना आफ्नै लय र गतिमा चलायमान चल्नुपर्ने र बजार दुर्घटनामा पर्यो भने अरू धेरै क्षेत्रमा गहिरो असर पर्नगई अर्थतन्त्र दुष्चक्रमा फस्ने पनि जनाइएको छ।
विज्ञप्तिमा पूँजी बजारलाई नियमन गर्ने निकायहरू लामो समय नेतृत्वविहीन रहँदा नीतिगत कामकारबाही अलपत्र परेको र उनीहरूबाट बजारले ढाडस पाउन नसकेको उल्लेख छ। धितोपत्र बोर्डको अध्यक्ष र स्टक एक्सचेञ्जको प्रमुख कार्यकारीमा योग्य व्यक्ति अविलम्ब नियुक्त गर्न पनि विवेकशील साझा पार्टीले माग गरेको छ।