खल्तीमा वर्ल्डलिंकको ४० प्रतिशत लगानी
इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले खल्ती डिजिटल वालेटमा लगानी गरेको छ।
खल्तीमा वर्ल्डलिंकले ४० प्रतिशत लगानी गरेको हो। ७७ वटै जिल्लामा इन्टरनेट सेवा पुर्याइरहेको वर्ल्डलिंकले दुर्गम र ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्याउने लक्ष्यसहित खल्तीमा लगानी गरेको जनाएको छ।
वर्ल्डलिंक र खल्तीको साझेदारीले शहरी सहित ग्रामीण क्षेत्रमा पनि वित्तीय पहुँच पुर्याउनको लागि सहयोग पुग्ने कम्पनीकाे विश्वास छ।
“वर्ल्डलिंकले शहरी क्षेत्र सहित ग्रामीण तथा दुर्गम क्षेत्रमा इन्टरनेटको सेवा विस्तार गरिरहेको छ,” अध्यक्ष दीलिप अग्रवालले भने, “यो सहकार्य नेपालको सूचना प्रविधि सुदृढीकरणको लागि कोशेढुङ्गा साबित हुनेछ।”
खल्तीका २० लाख बढी प्रयोगकर्ता छन्। वर्ल्डलिंकका ५ लाख ४३ हजारभन्दा बढी ग्राहक छन्। वर्ल्डलिंककमा बेलायतको विकास वित्त इन्स्टिच्युट (सीडीसी) ग्रुपले पनि लगानी गरेको छ।