'युनुस दाउद इब्राहिमका एजेन्ट'
भारतीय समाचार संस्था आजतकले शुक्रबार करीब साढे सात करोड भारतीय जाली नोटसहित गिरफ्तार गरिएका यूनुस अन्सारीलाई दाउद इब्राहिमका एजेन्ट बताएको छ ।
आजतकका अनुसार अन्सारीले नेपालमा रहेर आईएसआईको इसारामा भारतमा नक्कली रुपैयाँको कारोबार गर्दै आएको बताइएको छ ।
आजतकले यूनुस अन्सारी दाउदको डी कम्पनीसँग नजिक भएकाले भारतीय एजेन्सीको राडारभित्र रहेको उल्लेख गरेको छ ।
विमानस्थल सुरक्षाका लागि खटिएको प्रहरीले नक्कली भारु र लागुपदार्थ कारोबारमा सजाय पाएका यूनुस अन्सारी, पाकिस्तानी नागरिकहरू नासिर उदिन, नादिया अनवर र मुहम्मद अख्तरलाई शुक्रबार त्रिभुवन विमानस्थलबाट ७ करोड ६७ लाख ९४ हजार नक्कली भारतीय रुपैयाँसहित पक्राउ गरेको हो ।
चारवटा सुटकेशमा रहेको उक्त रकम कतार एयरवेजबाट पाकिस्तान हुँदै ल्याएको विमानस्थल प्रहरीका एसपी कृष्ण कोइरालाले बताएका छन् ।
उक्त रकम भन्सार जाँच गर्ने क्रममा भेटिएको हो । पूर्वमन्त्री सलीम मिया अन्सारीका छोरा यूनुस नक्कली भारुको ब्रिफकेस लिन विमानस्थल पुगेको प्रहरीले बताएको छ ।
अन्सारी यसअघि दुईपटक नक्कली भारु नोट र लागूपदार्थ सहित पक्राउ परेका अदालतबाट दोषी ठहर भई सजाय पाएर केही समयअघि मात्र जेलमुक्त भएका थिए ।
यूनुस अन्सारीलाई प्रहरीले पक्राउ गरेको भन्दा पनि उनले आफैे आत्मसमर्पण गरेजस्तै घटनाक्रमले देखाएको छ । जेलबाट छुटेपछि भारतीय पक्षबाट आफूलाई असुरक्षित ठान्दै आएका उनले काठमाडौंको जेलभित्रै रहँदा पनि भारतीय सुटरको आक्रमणमा परेर मुस्किलले ज्यान जोगाउन सफल भएका थिए ।
बारा जिल्लाका पूर्वमन्त्री तथा एमाले नेता सलीम मिया अन्सारीका छोरा यूनुस अन्सारी पहिलोपटक पक्राउ पर्नुअघि काठमाडौंमा एक निजी टेलिभिजनका सञ्चालक पनि थिए । तर, पक्राउ परेसँगै उनको टेलिभिजन बन्द भएको थियो ।
यूनुस पटक–पटक पक्राउ पर्दै छुट्दै आएका व्यक्ति हुन् । पछिल्लो पटक २ फागुन ०७४ मा उनी नख्खु कारागारबाट छुटेका थिए । थुनामुक्त भएको एक वर्षपछि शुक्रबार उनी साढे ७ करोड बढी नक्कली नोटसहित पक्राउ परेका हुन् ।