दक्षिणएशियाका ५३ लाख बालबालिका नियमित खोपबाट बञ्चित : युनिसेफ
दक्षिणएशियाका सरकारहरूले कोभिड–१९ महामारी र अन्य प्रकोपका कारण प्रभावित लाखौँ बालबालिका तथा तिनका परिवारका लागि आधारभूत स्वास्थ्य, शिक्षा, सुरक्षा लगायत सेवामा तत्काल लगानी विस्तार गर्न आवश्यक भएको युनिसेफले जनाएको छ।
युनिसेफले ७५औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरेको प्रतिवेदनमा यस क्षेत्रका ६० करोड बालबालिकामध्ये सबैभन्दा सीमान्तकृत बालबालिकामा महामारीले असमान प्रभाव पारेको उल्लेख छ।
अत्यावश्यक स्वास्थ्य, खोप, पोषण, संरक्षण र शिक्षा सेवालाई सुधार गर्न नसकेमा कोभिड–१९ महामारीको विनाशकारी प्रभावहरू दशकौंसम्म रहिरहने प्रतिवेदनले सङ्केत गरेको छ।
त्यसै गरी मानवीय प्रकोप र खडेरी, बाढी र वायु प्रदूषण जस्ता जलवायु सम्बन्धी जोखिमले बालबालिकाको अवस्थालाई थप गहिरो प्रभाव पारेको प्रतिवेदनमा उल्लेख छ।
युनिसेफको प्रतिवेदन अनुसार, महामारीभन्दा अघि ठूलो युवा जनसङ्ख्याले विकासलाई थप गति दिएकाले दक्षिणएशिया विश्वको सबैभन्दा द्रुत विकास हुने क्षेत्रहरूमध्ये एक थियो ।
बितेका २५ वर्षमा बाल मृत्युदर आधाभन्दा बढी घटेको तथा पुड्कोपनाबाट पीडित बालबालिकाको सङ्ख्या पनि सन् २००० पछि एक तिहाइभन्दा बढीले घटेको थियो। त्यसै गरी माध्यमिक विद्यालयमा भर्ना हुने बालबालिकाको सङ्ख्या क्रमशः बढ्दै गएको र १८ वर्ष नपुग्दै विवाह गर्ने बालिकाको सङ्ख्या घटेको थियो ।
कोभिड १९ महामारीले यी सबै सूचकमा असर गरेको यूनिसेफको प्रतिवेदनमा उल्लेख छ। दक्षिणएशिया क्षेत्रले हालैका दशकमा बाल अधिकारको विकासमा हासिल गरेका उल्लेखनीय उपलब्धिहरू अहिले जोखिममा रहेको दक्षिणएशियाका लागि युनिसेफका क्षेत्रीय निर्देशक जर्ज लारिया–एडजेईले बताएका छन्।
२०२० मा कोभिड–१९ का कारण अनुमानित २ लाख २८ हजार थप बाल मृत्यु निम्त्याएको र अघिल्लो वर्षको तुलनामा लगभग १९ लाख बढेर ५३ लाख बालबालिका महत्त्वपूर्ण खोप लिनबाट वञ्चित भएको युनिसेफको अनुमान छ। २०२० मा थप ३८ लाख ५० हजार बालबालिका ख्याउटेपनबाट ग्रस्त भएको युनिसेफको प्रतिवेदनमा उल्लेख छ।
महामारीको समयमा अन्य क्षेत्रको तुलनामा दक्षिणएशियाका विद्यालयहरू सबैभन्दा लामो समयसम्म बन्द भएका थिए। इन्टरनेटमा जोडिन नसकेका र डिजिटल उपकरण खरीद गर्नका लागि आर्थिक समस्या भएको क्षेत्रका ४० करोडभन्दा बढी बालबालिका पढाइबाट वञ्चित भए। परिणाम स्वरूप दुर्गम क्षेत्रका गरीब बालबालिका, किशोरी र अपाङ्गता भएका विद्यार्थी सिकाइका अवसरमा असमान रूपमा प्रभावित भएको यूनिसेफले जनाएको छ।
युनिसेफका अनुसार, बालबालिकाको प्रगतिलाई पहिलेकै स्थितिमा लैजान गरिने तत्काल लगानीसँगै यो क्षेत्र भविष्यमा हुन सक्ने महामारीका लागि पनि तयारी अवस्थामा रहनुपर्छ।