अमेरिकी दूतावासद्वारा लोकतन्त्र शिखर सम्मेलन सम्बन्धी कार्यक्रम आयोजना
नेपालस्थित अमेरिकी दूतावासले लोकतन्त्र शिखर सम्मेलनको पूर्वसन्ध्यामा आज (बुधबार) एक विचार–विमर्श कार्यक्रमको आयोजना गरेको छ।
२३–२४ मङ्सीरमा आयोजना हुने उक्त शिखर सम्मेलनको पूर्वसन्ध्यामा अमेरिकी दूतावासले नेपालमा राजनीतिक दल सम्बद्ध नेतृत्व, अधिकारकर्मी, नागरिक समाज सहितको सहभागितामा यस्तो कार्यक्रम आयोजना गरेको हो।
उक्त कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी, यूएसएआईडीका नियोग प्रमुख सेपिडे केभानशाड, नेपाली नेतृत्वकर्ता, अधिकारकर्मी, नागरिक समाजका सदस्य र युवा अभियन्ताहरूले सामाजिक, राजनीतिक र आर्थिक समावेशीकरणका साथै लोकतान्त्रिक मुलुकहरूका अवसर र चुनौतीबारे चर्चा गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत बेरीले हालैका वर्षमा नेपालले हासिल गरेका उपलब्धिमाथि प्रकाश पार्दै नेपाल धेरै अर्थमा यस क्षेत्र र विश्वकै निम्ति नमूनाका रूपमा रहेको बताए। उनले विगत १५ वर्षभित्र नेपालमा हिंसात्मक माओवादी द्वन्द्वपछि शान्ति प्रक्रिया, लोकतान्त्रिक शासनको पुनरागमन सफल भएको बताउँदै नेपाललाई धर्मनिरपेक्ष, लोकतान्त्रिक र सङ्घीय व्यवस्थाका रूपमा परिभाषित गर्ने संविधानको अनुमोदन हुँदै अघि बढेको बताए।
राजदूत बेरीले संयुक्त राज्य अमेरिकाको लोकतन्त्रको शक्तिको परीक्षण र पुनः पुष्टि गरेका ऐतिहासिक र हालसालका घटनाहरूका बारेमा पनि चर्चा गरे।
अमेरिकी राष्ट्रपति जो बाइडेनले मानव अधिकार दिवस पहिलो लोकतन्त्र शिखर सम्मेलनको आयोजना गरेर मनाउँदै छन्। यो विश्वव्यापी भर्चुअल सम्मेलनले लोकतन्त्रलाई जीवन्त राख्ने सर्वस्वीकार्य अजेन्डा तय गर्न सरकार, नागरिक समाज र निजी क्षेत्रका नेतृत्वलाई एकै ठाउँमा ल्याउनेछ।
शिखर सम्मेलन लोकतान्त्रिक देशहरूमा भ्रष्टाचार विरुद्ध लडाइँ, अधिनायकवादको प्रतिकार र मानव अधिकारको प्रवर्द्धन गरी तीन स्तम्भ र साझा मूल्यहरूमा केन्द्रित हुनेछ।
राष्ट्रपति बाइडेनको निमन्त्रणामा सम्मेलनमा नेपालको प्रतिनिधित्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्दै छन्। यस शिखर सम्मेलन लोकतन्त्रको उत्थानशीलता र चुनौतीहरूलाई सम्बोधन गर्न सन् २०२२ भरि हुने कार्यक्रमहरूको शृङ्खलाको एक हिस्सा हुने अमेरिकी दूतावासले जनाएको छ।