यसरी छानिंदै छन् माओवादीका १५ सय प्रतिनिधि
नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि छनोट गर्न शुरू गरेको छ।
प्रतिनिधि छनोटका लागि माओवादीले आन्तरिक सर्कुलर जारी गरेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहालले जारी गरेको सर्कुलरमा २९ मंसीरसम्म प्रतिनिधि छनोट गरेर केन्द्रमा पठाउन प्रदेश समितिलाई निर्देशन दिइएको छ।
माओवादीको काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनमा १ हजार ५ सय प्रतिनिधि सहभागी हुनेछन्। जसमा ५ प्रतिशत केन्द्रीय कार्यालयले मनोनयन गर्ने व्यवस्था गरिएको छ। यसअघि १० प्रतिशत मनोनयन गर्ने व्यवस्था थियो।
प्रत्येक प्रदेशबाट ३० जनाका दरले प्रतिनिधि छनोट हुनेछन्। त्यस बाहेक प्रदेशले १ हजार ५ सय सङ्गठित सदस्य बराबर थप १ जनाका दरले प्रतिनिधि छनोट गर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, प्रत्येक प्रदेशबाट एक जना घाइते तथा अपाङ्गता भएका व्यक्तिलाई अनिवार्य रूपमा राष्ट्रिय सम्मेलनको प्रतिनिधि बनाउनुपर्नेछ। जसमा सशस्त्र विद्रोह तथा जनआन्दाेलनका क्रममा घाइते भएका कार्यकर्तालाई प्राथमिकतामा राखिएको छ।
माओवादीले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिका लागि शुल्क पनि तोकेको छ। प्रत्येक प्रतिनिधिले दुई हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने आन्तरिक सर्कुलरमा उल्लेख छ।
यससँगै माओवादीको राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिले खाने र बस्ने व्यवस्था आफैंले गर्नुपर्नेछ। प्रतिनिधिको व्यवस्थापनको जिम्मा पनि प्रदेश समितिहरूलाई नै दिएको छ।
राष्ट्रिय सम्मेलनको तयारीका लागि विभिन्न समिति यसअघि नै गठन गरिसकेको छ। माओवादीको राष्ट्रिय सम्मेलन ११-१३ पुसमा काठमाडौंमा हुने तय भएको छ।