पत्रकार हुन योग्यता परीक्षण मंसीरदेखि !
पत्रकारिता क्षेत्रलाई स्वतन्त्र, सक्षम र मर्यादित बनाउन भन्दै प्रेस काउन्सिल नेपालले पत्रकारको योग्यता परीक्षण गर्ने तयारी गरेको छ ।
पत्रकारिता नगर्नेहरुले पनि प्रेस अनुमतिपत्र लिई दुरुपयोग गर्ने गरेको स्थितिमा काउन्सिलले मंसीर पहिलो सातादेखि पुराना पत्रकारको व्यावसायिक अभिलेखीकरण गर्ने र पत्रकारिता व्यवसाय गर्न चाहने नयाँ व्यक्तिका लागि योग्यता परीक्षण एकैसाथ गर्ने योजना बनाएको हो ।
योग्यता परीक्षणका लागि काउन्सिलद्वारा तयार पारिएको ‘पत्रकारको योग्यता परीक्षणसम्बन्धी प्रतिवेदन’ छलफलका लागि हालै सार्वजनिक गरिएको छ ।
सञ्चार क्षेत्रका विज्ञ, सम्बन्धित सङ्घसंस्थाको सुझावको आधारमा मात्र परीक्षणलाई कार्यान्वयनमा ल्याइने काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले जानकारी दिए ।
प्रतिवेदनअनुसार पत्रकार हुन लिखित, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा दिनुपर्ने छ । अध्यक्ष कार्कीले भने, “पत्रकारिता क्षेत्रको गुणस्तर घटेको मात्र छैन, सञ्चारमाध्यम र पत्रकारले पालना गर्नुपर्ने आचारसंहिता उल्लङ्घनका घटना पनि बढ्दै गएका छन् । यस्तो प्रवृत्तिले नेपाली सञ्चारमाध्यम र पत्रकारिता व्यवसायप्रतिको विश्वासमा ह्रास भइरहेको छ, त्यसलाई रोक्न पनि प्रेस काउन्सिलले पत्रकारको योग्यता परीक्षण गर्ने व्यवस्था लागू गर्न लागेको हो ।”
रत्नराज्य लक्ष्मी क्याम्पस, पत्रकारिता विभागका विभागीय प्रमुख डा कुन्दन अर्यालले वकिल, डाक्टर, इञ्जिनियर बन्नका लागि योग्यता तोकिएको अवस्थामा आमजनतासँग प्रत्यक्ष जोडिएको पत्रकारिता पेसामा लाग्न योग्यता तोकिनु कुनै नौलो विषय नभएको धारणा राख्छन् ।
काउन्सिलले योग्यता परीक्षणको पाठ्यक्रममा पत्रकारिताको सामान्य सिद्धान्त, पत्रकारिता गर्न आवश्यक पर्ने न्यूनतम ज्ञान, सीप र पत्रकारले पालना गर्नुपर्ने र आचारसंहितालाई जोड दिएको छ ।
यस्तो परीक्षा लिन कतैबाट प्रभाव र नियन्त्रण हुन नसक्ने विज्ञहरुको स्वतन्त्र संयन्त्र बनाइने काउन्सिलका अध्यक्ष कार्कीले जानकारी दिए ।
वरिष्ठ पत्रकार कहलिन भने १५ वर्षभन्दा बढी जिम्मेवार र उत्तरदायी भई पत्रकारिता व्यवसायद्वारा समाज र राष्ट्रलाई विशिष्ट योगदान दिएको हुनुपर्नेछ ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले पाठ्यक्रमअनुसार परीक्षामा उत्तीर्ण भएमा मात्रै पत्रकार हुनसक्ने भन्ने सवाल चित्त बुझ्दो नभएको टिप्पणी गरे ।
“काउन्सिलले लिने परीक्षा उत्तीर्ण गरेबापत तोकिएकै सञ्चारमाध्यममा काम गर्न पाइने निश्चित छैन, त्यसैले पत्रकारको परीक्षा सम्बन्धित मिडिया हाउसले मात्र लिन सक्छ” – अध्यक्ष विष्टले भने ।
रासस
*सच्याइएको