माओवादी कमजोर भए, जनताका अधिकार खोसिन्छन् : दाहाल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माओवादी कमजोर भए जनताका अधिकार खोसिने जिकिर गरेका छन्।
चितवनको दिव्यनगरमा शनिबार कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले जनताका अधिकार जोगाउन माओवादी बलियो हुनुपर्ने बताए। “माओवादी कमजोर भयो भने देश कमजोर हुन्छ, जनताका अधिकार खोसिन्छन्,” दाहालले भने, “माओवादी बलियो भयो भने देश बलियो हुन्छ, जनताले पाएका अधिकार जोगिन्छन्।”
माओवादी आन्दोलनले नै जनतालाई अधिकार सम्पन्न बनाएको उनको भनाइ थियो। गणतन्त्र, संघीयतासँगै महिला, दलित, जनजाती आदिवासी, मधेशी, मुस्लिमको अधिकारका लागि माओवादी नै लडेको दाहालको जिकिर थियो।
अझै पनि प्रतिक्रियावादी गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका विरुद्ध लागिरहेको उनको भनाइ थियो। यी सबैको रक्षाका लागि माओवादी बलियो हुनुपर्ने दाहालको दाबी थियो।
जसरी चितवनको विकास भइरहेको छ, त्यसरी नै देशको विकास गर्नुपर्ने दाहालले औंल्याए। विकास भएकाले नै नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशन चितवनमा भएको उनको भनाइ थियो।
“चितवनमा सबैको आँखा परेको छ। कोही डाहाले, कोही मायाले चितवन हेर्दै छन्,” एमाले महाधिवेशनलाई इङ्गित गर्दै दाहालले भने, “केही दिनअघि नारायणी तिरमा ठूलो मेला लाग्यो। चितवनलाई माया गरेर त होला! बाटाघाटा हेर्नलाई पनि होला। प्रचण्ड र रेनुलाई जिताउने जनता कस्ता रहेछन् भन्ने हेर्नलाई पनि होला।”
उनले सबै दललाई चितवनमा नै अधिवेशन गर्न आग्रह गरे। त्यसका लागि चितवनमा भौतिक पूर्वाधार तयार रहेको उनको भनाइ थियो।