दोस्रो चरणको आर्थिक सुधार आवश्यक: प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रलाई गतिशील बनाउन दोस्रो चरणको आर्थिक सुधार आवश्यक रहेको बताएका छन्। प्रधानमन्त्री देउवाले २०४६ सालको बहुदलीय प्रजातन्त्र स्थापना पश्चात् शुरू गरिएको पहिलो चरणको आर्थिक सुधारका कमजोरीहरू सुधारेर अर्थतन्त्रलाई गति दिन दोस्रो चरणको सुधार आवश्यक रहेको बताएका हुन्।
बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को रजत जयन्ती तथा सेजन अवार्ड वितरण समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले सरकारले आन्तरिक र बाह्य लगानीलाई प्रवर्द्धन गर्ने भएकाले ढुक्क भएर लगानी गर्न लगानीकर्ताहरूलाई आह्वान गरे। उनले सरकारको एकल प्रयासले मात्रै आर्थिक विकास सम्भव नरहेकाले निजी क्षेत्रसँगको साझेदारीमा मात्रै विकास र समृद्धि हासिल गर्न सकिने बताए।
कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले देशमा आर्थिक विकासका लागि छुट्टै कानून आवश्यक रहेको बताए। विकासका सानातिना काम पनि अदालतको अन्तरिम आदेशले रोकिने गरेकाले विकासका गतिविधिलाई तीव्रता दिन विशेष कानूनको आवश्यकता औंल्याएका हुन्। अहिले अर्थ मन्त्रालयले त्यसको तयारी गरिरहेको उनले बताए।
अर्थमन्त्री शर्माले अहिलेको खर्च प्रणालीले भने अनुसार लक्ष्य प्राप्त नभइरहेकाले नयाँ विधि अवलम्बन गर्नेबारे छलफल भइरहेको बताए। तर, त्यो नयाँ विधि के हो भन्ने विषयमा अर्थमन्त्री शर्माले खुलाएनन्।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले नयाँ चरणको आर्थिक सुधारका लागि लाइसेन्स-राजको अन्त्य हुनुपर्नेमा जोड दिए। उनले सार्वजनिक खरीद र ऐनमा पारदर्शिता ल्याउनुपर्ने, सार्वजनिक सम्पत्तिको जगेर्ना गर्नुपर्ने र वित्तीय क्षेत्रमा सुधारको खाँचो रहेको औंल्याए।
कार्यक्रममा बोल्दै सांसद तथा उद्योगपति विनोद चौधरीले देशमा दोस्रो चरणको आर्थिक सुधार आवश्यक भइसकेको र त्यसका लागि बन्देजकारी नीति-नियम र कानूनहरू फेर्नुपर्नेमा जोड दिए। त्यसै गरी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना र मझौला व्यवसायलाई प्रवर्द्धन गर्न नसक्दासम्म अर्थतन्त्रले सुधारको गति नसमात्ने बताए। उनले अमेरिकी सहायता परियोजना एमसीसीको कार्यान्वयनमा जोड दिंदै उग्र राष्ट्रवादी बनेर नेपालको पूर्वाधार विकासका लागि आउन लागेको अनुदान रोक्नु सर्वथा अनुचित भएको बताए। नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले ब्यांकको ब्याज वृद्धिले बजारमा मूल्यवृद्धि थपेकाले तरलताको स्थिति सहज बनाउन आग्रह गरे। नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले नेपालमा औद्योगीकरण आवश्यक भएकाले सरकारको ध्यान औद्योगिक वातावरण बनाउनतिर जानुपर्ने बताए।
कार्यक्रममा सेजन अवार्ड तथा सेजन सम्मान र लेखनवृत्तिको घोषणा गरिएको थियो।