माओवादी प्रभाव क्षेत्रबाट उदाएर एमाले केन्द्रीय सदस्य बनेकी ३२ वर्षीया ईश्वरीको राजनीतिक यात्रा
नेकपा (माओवादी)ले सशस्त्र द्वन्द्वको शुरूआत गरेको रोल्पामा त्यति वेला माओवादी बाहेक दलका कार्यकर्तालाई गाउँघरमा टिक्न गाह्रो थियो।
गाउँघरमा बस्न कि त जबर्जस्ती माओवादी बन्नुपर्थ्यो, नभए गाउँ छोडेर विस्थापित हुनुपर्थ्यो। तर, रोल्पाको नुवागाउँकी ईश्वरी घर्तीमगर (जिएम)ले भने माओवादीको राप र तापका वेला पनि उनीहरूको डटेर मुकाबिला गरिन्। आफ्नो राजनीतिक यात्रामा अवरोध आउन दिइनन्।
चितवनमा सम्पन्न एमालेको १०औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित सम्भवत: सबैभन्दा कम उमेरकी उनले माओवादी द्वन्द्व उत्कर्षमा पुगेको वेला एमालेको भ्रातृ सङ्गठन अनेरास्ववियूमा आबद्ध भएर राजनीतिलाई अघि बढाएकी थिइन्।
२०६२ सालमा उनी रोल्पाको नुवागाउँस्थित अरनिको माविको कक्षा १० मा अध्ययनरत थिइन्। माओवादीको प्रभाव सबैतिर थियो। रोल्पाका कुनै पनि विद्यालयमा माओवादीको भ्रातृ सङ्गठन बाहेक अन्य राजनीतिक दलका विद्यार्थी सङ्गठनको कमिटी थिएन। अन्य पार्टीका भ्रातृ सङ्गठनलाई कमिटी बनाउन उनीहरूले रोक लगाउँथे। तर, अरनिको माविमा भने जिएम सहितले अनेरास्ववियूको कमिटी गठन गरेर एक हिसाबले माओवादीलाई चुनौती दिए।
अनेरास्ववियूबाट राजनीति शुरू गरेकी जिएम त्यसपछि उच्च मावि एकाइ कमिटी अध्यक्ष, जिल्ला कमिटी सदस्य, अञ्चल कमिटी सदस्य भइन्। विद्यार्थी राजनीति छोडेर उनी केही समय पत्रकारितामा समेत आबद्ध भइन्।
उनी पहिलो पटक कमिटीको उपाध्यक्ष भइन्। त्यति वेला कमिटी गठनका लागि हाल नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय नेता मेटमणि चौधरी पुगेका थिए। “माओवादीको प्रभाव र दबदबा यस्तो थियो कि अन्य राजनीतिक दलका मान्छेलाई बोल्न पनि दिंदैनथे, हामीले एमाले सम्बद्ध विद्यार्थी कमिटी बनाउनुलाई उनीहरू चुनौती दिएको ठान्थे,” उनी भन्छिन्।
अनेरास्ववियूबाट राजनीति शुरू गरेकी जिएम त्यसपछि उच्च मावि एकाइ कमिटी अध्यक्ष, जिल्ला कमिटी सदस्य, अञ्चल कमिटी सदस्य भइन्। विद्यार्थी राजनीति छोडेर उनी केही समय पत्रकारितामा समेत आबद्ध भइन्।
पत्रकारितामा रहँदा उनले प्रेस चौतारी रोल्पाको अध्यक्ष भएर काम गरिन्। २०४६ साल फागुनमा जन्मेकी जिएमलाई विद्यार्थी राजनीतिमा क्रियाशील रहेका वेला २०६१ सालमा माओवादीले हप्तौं दिनसम्म अपहरण गरेर आफ्नो अभियानमा सामेल गराएको थियो। तर, उनी विचलित भइनन्। माओवादीको नजरबन्दबाट भाग्न सफल भइन्।
पत्रकारिता छोडेर उनी पुन: पार्टी राजनीतिमा फर्किइन्। अनेमसंघ जिल्ला कमिटी सदस्य, केन्द्रीय सदस्य तथा एमाले इलाका कमिटीको उपसचिव, जिल्ला कमिटी रोल्पाको दुई कार्यकाल सदस्य भएर काम गरेकी उनी सम्भवत: एमालेको १०औं महाधिवेशनबाट निर्वाचित कान्छी केन्द्रीय सदस्य हुन्।