राष्ट्र ब्यांकका कर्मचारीको तलबभन्दा भत्ता धेरै, औसतमा एक कर्मचारीको भत्ता मात्रै मासिक ५० हजार
नेपालमा कर्मचारीलाई आकर्षक तलबभत्ता दिने सरकारी संस्थामा नेपाल राष्ट्र ब्यांकको नाम अग्रपङ्क्तिमा आउँछ।
राष्ट्र ब्यांकमा तलब जति हुन्छ, त्योभन्दा धेरै यसले आफ्ना कर्मचारीलाई भत्ता बाँड्छ। केन्द्रीय ब्यांकको गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन अनुसार, गत आर्थिक वर्षमा राष्ट्र ब्यांकले आफ्ना कर्मचारीलाई रु.६२ करोड ७८ लाख तलब बाँडेको छ। तर, भत्ता त्योभन्दा बढी रु.६३ करोड ५२ लाख बाँडेको छ।
यो प्रति कर्मचारीमा भाग लगाउँदा औसतमा एक जना कर्मचारीको भागमा करीब रु.६ लाख पर्छ। केन्द्रीय ब्यांकमा १ हजार ६१ जना कर्मचारी छन्। कर्मचारीका लागि कैयौं खालका सेवा-सुविधा हुन्छन्।
राष्ट्र ब्यांकले आफ्ना कर्मचारीलाई ग्रेड अनुसारको भत्ता, बीमा, अतिरिक्त कामको भत्ता, भ्रमण भत्ता, चाडपर्व खर्च, विशेष तथा अतिरिक्त समय काम गरे बापतको भत्ता, पोशाक भत्ता, दैनिक तथा भ्रमण भत्ता लगायत भत्ता उपलब्ध गराउँछ।
प्रतिवेदनका अनुसार, कर्मचारीका लागि राष्ट्र ब्यांकले गत आर्थिक वर्षमा रु.२ अर्ब ७१ करोड खर्च गरेको छ, जुन अघिल्लो वर्षभन्दा थोरै कम हो।
आर्थिक वर्ष २०७६/७७ मा कर्मचारीका लागि रु.२ अर्ब ८५ करोड खर्च भएको थियो। २०७८ असार मसान्तमा केन्द्रीय ब्यांकमा प्रशासनतर्फ ९८६ र प्राविधिकतर्फ ७५ गरी कुल १ हजार ६१ जना कर्मचारीहरू कार्यरत छन्।
राष्ट्र ब्यांकले कर्मचारीको कल्याणकारी योजनामा रु.७ करोड ६० लाख र सञ्चयकोषमा रु.५७ करोड ४४ लाख खर्च गरेको छ। त्यसैगरी, पेन्सन र उपदानमा रु.३१ करोड ६२ लाख खर्च गरेको छ।
त्यसै गरी, कर्मचारीको बिदा अन्तर्गत रु.१४ करोड ४२ लाख तथा कर्मचारीको औषधोपचारमा रु.११ करोड ७७ लाख खर्च गरेको छ। राष्ट्र ब्यांकले गत वर्ष आफ्ना सञ्चालक समिति सदस्य र कर्मचारीलाई रु.२ करोड ३७ लाख बैठक भत्ता बाँडेको छ।
राष्ट्र ब्यांकले गत आर्थिक वर्ष २०७७/७८ मा गभर्नर महाप्रसाद अधिकारीलाई तलब र भत्ता गरी रु.३२ लाख ६२ हजार दिएको छ। यसमध्ये तलब रु.१३ लाख ९४ हजार हो। गभर्नर अधिकारीको भन्दा डेपुटी गभर्नरद्वयको तलबभत्ता धेरै छ।
त्यसैगरी, डेपुटी गभर्नर निलम ढुंगानाले तलब र भत्ता गरी रु.३६ लाख ५८ हजार बुझेकी छन्। अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले पनि वर्षभरिमा तलब र भत्ता गरी रु.३४ लाख ३९ हजार बुझेका छन्।