राप्रपा अध्यक्ष राणा तटस्थ बस्ने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शम्शेर राणा आसन्न महाधिवेशनमा तटस्थ बस्ने भएका छन्।
काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरी अध्यक्ष राणाले निर्वाचन प्रक्रियाबाट अलग रहने बताएका हुन्। पत्रकार सम्मेलनमा राणाले भने, “देशव्यापी सद्भाव र समर्थनका बावजूद पार्टीको एकता र बृहत्तर हितका लागि निर्वाचन प्रक्रियाबाट अलग रहने मैले निधो गरेको छु।”
राप्रपाको महाधिवेशन १५ देखि १७ मंसीरमा काठमाडौंमा हुँदै छ। त्यसमा अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङदेनले उम्मेदवारी घोषणा गरेका छन्। मंगलबार नै सम्मेलन गरी राप्रपा अध्यक्ष प्रकाशचन्द्र लोहनीले लिङदेनलाई समर्थन गर्ने जनाएका छन्।
अर्का अध्यक्ष राणाले भने कसैलाई समर्थन नगरी निर्वाचन प्रक्रियाबाट अलग बस्ने घोषणा गरेका हुन्। उनले सहमतिका लागि भने प्रयास गर्ने जनाएका छन्।
“सहमति र सर्वसम्मतिका आधारमा पार्टी नेतृत्व चयन होस् भन्ने मेरो चाहना छ। त्यसैले सर्वसम्मतद्वारा अध्यक्षको चयन होस् भन्ने मेरो प्रयत्न हुनेछ,” राणाले भने, “राप्रपाको सार्थक निरन्तरता, एकता र सर्वसम्मतिका लागि मेरो भूमिका र सहयोग अनवरत रहनेछ।”