नाै नेता जसले एमाले हाँके
नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो पटक अध्यक्षमा निर्वाचित भएका छन्। उनी एमालेको नवौं अध्यक्ष हुन्।
मंगलबार सम्पन्न निर्वाचनमा उनी भीम रावललाई पराजित गर्दै पुनः अध्यक्ष बनेका छन्। यसअघि नवौं महाधिवेशनमा माधवकुमार नेपाललाई पराजित गर्दै अध्यक्ष बनेका थिए।
२००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेकपा स्थापना भएको थियो। त्यसको चार वर्षपछि १७ माघ, २०१० मा भएको पहिलो महाधिवेशनबाट मनमोहन अधिकारी महासचिवमा निर्वाचित भएका थिए। पहिलो महाधिवेशन भूमिगत रूपमा नौ दिनसम्म चलेको थियो।
त्यसपछि १५ देखि २५ जेठ, २०१४ मा दोस्रो महाधिवेशन भयो। पहिलो महाधिवेशनबाट निर्वाचित महासचिव अधिकारी चीनमा रहेकाले उपस्थित भएका थिएनन्। दोस्रो महाधिवेशनले केशरजंग रायमाझीलाई महासचिव चयन गरेको थियो।
४ देखि १५ वैशाख, २०१९ मा भएको तेस्रो महाधिवेशनबाट तुलसीलाल अमात्य महासचिव चयन भए। त्यति वेला अधिकारी जेलमा थिए। त्यो महाधिवेशनले रायमाझी समूहलाई कारबाही गर्यो।
रायमाझी समूहले २०२४ सालमा तेस्रो राष्ट्रिय सम्मेलनको आयोजना गरी छुट्टै पार्टीको घोषणा गर्यो। त्यसमा मनमोहन अधिकारीलाई पनि केन्द्रीय सदस्य राख्यो।
२०१९ सालमा तेस्रो महाधिवेशनबाट गठित केन्द्रीय कमिटी निष्क्रिय बनेपछि पुष्पलालको नेतृत्वमा २०२५ जेठमा तेस्रो सम्मेलनको आयोजना गरी नयाँ पार्टी घोषणा गर्यो। त्यो सम्मेलनले पुष्पलाललाई महामन्त्री बनायो।
मनमोहन अधिकारी जेलबाट छुटेपछि २० मंसीर, २०२८ मा केन्द्रीय न्यूक्लियस गठन भयो। त्यसमा रहेका मोहनविक्रम सिंहले ३० भदौदेखि ७ असोज, २०३१ मा चौथो महाधिवेशनको आयोजना गरे। असन्तुष्ट पक्षले २०३६ सालमा एकता सम्मेलन गरी नेकपाको घोषणा गर्यो।
त्यस्तै, झापा आन्दोलनबाट आएको समूहले ११ पुस, २०३५ मा नेकपा (माले) गठन गर्यो। यसको महासचिवमा सीपी मैनाली चयन भए।
२०३९ सालमा मैनालीलाई हटाएर झलनाथ खनाललाई मालेको महासचिव बनाइयो। उनले २०४६ सालसम्म मालेको नेतृत्व गरे।
फेरि ९-१४ भदौ, २०४६ मा सिराहामा भूमिगत रूपमा नेकपाको चौथो महाधिवेशन भयो। चौथो महाधिवेशनले मदन भण्डारीलाई महासचिव चयन गर्यो।
२०४६ सालको आन्दोलनमा सबै वाम घटक एकजुट भएर वाम मोर्चा बनाए। त्यसपछि २०४७ चैतमा सबै कम्युनिष्टबीच एकता गरेर नेकपा (एमाले) गठन भयो।
त्यसपछि १४-२० माघ, २०४९ काठमाडौंमा पाँचौं महाधिवेशन भयो। यो महाधिवेशनले मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज)लाई पारित गर्यो। मनमोहन अधिकारी अध्यक्ष भए भने भण्डारी महासचिव भए।
एमालेको छैटौं राष्ट्रिय महाधिवेशन १२-१८ माघ, २०५४ मा नेपालगञ्जमा सम्पन्न भयो। यो महाधिवेशनबाट पुनः मनमोहन अधिकारी अध्यक्ष चयन भए। त्यस्तै, महासचिवमा माधवकुमार नेपाल निर्वाचित भए।
त्यस्तै, १८-२२ माघ, २०५९ मा जनकपुरमा सातौं राष्ट्रिय महाधिवेशन भयो। मनमोहन अधिकारीको निधन भएकाले अध्यक्ष पद खाली राखियो। यो महाधिवेशनले पुनः नेपाललाई नै महासचिवमा निर्वाचित गर्यो।
जनकपुरपछि ५-१४ फागुन, २०६५ मा बुटवलमा भएको आठौं महाधिवेशनबाट एमालेमा अध्यक्षको निर्वाचन भयो। यो महाधिवेशनबाट झलनाथ खनाल अध्यक्षमा निर्वाचित भए।
१९-२५ असार, २०७१ मा काठमाडौंमा भएको नवौं महाधिवेशनमा केपी शर्मा ओली एमालेको अध्यक्षमा निर्वाचित भए। अहिले चितवनमा सम्पन्न १०औं महाधिवेशनले पुनः ओलीलाई नै अध्यक्षमा निर्वाचित गरेको छ।