विश्वासको मत लिंदै कर्णालीका मुख्यमन्त्री शाही
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन्।
प्रदेश प्रमुख तिलक परियारले आज मध्याह्न १ बजे प्रदेश सभाको बैठक आह्वान गरेका छन्। विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।
नेपाली कांग्रेस संसदीय दलका नेता शाही १५ कात्तिकमा मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार शाहीले आज विश्वासको मत लिन लागेका हुन्।
प्रदेश सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद भने अनुपस्थित रहने भएका छन्। एमाले सांसद १०औं महाधिवेशनमा सहभागी हुन चितवन पुगेका छन्।
सबै सांसद सौराहामा रहेकाले प्रदेश सभा बैठकमा सहभागी हुन नसक्ने प्रदेश सभामा एमाले संसदीय दलका नेता यामलाल कँडेलले बताए।
प्रमुख प्रतिपक्षी दलका सांसद अनुपस्थित भए पनि प्रदेश सभा बैठक भने नरोकिने भएको छ। मुख्यमन्त्रीले विश्वासको मत नलिंदा संवैधानिक जटिलता आउने भएकाले बैठक नरोकिने कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले जानकारी दिए।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा शाही मुख्यमन्त्री बनेका छन्। उनले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने बताएका छन्।