केन्द्रीय सदस्य त्यागेका लालबाबु पण्डित भन्छन्- सङ्गठित सदस्य भएर क्रियाशील हुन्छु
नेकपा (एमाले)का नेता लालबाबु पण्डितले केन्द्रीय सदस्यमा नबस्ने घोषणा गरेका छन्।
एमालेको १४औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले उनलाई केन्द्रीय सदस्यमा छनोट गरेका थिए। आइतबार राति बन्द सत्रमा ओली सार्वजनिक गरेको ३०१ जना केन्द्रीय सदस्यमा पण्डित पनि समावेश छन्।
आज भने पण्डितले केन्द्रीय सदस्यमा नबस्ने घोषणा गरेका हुन्। “केन्द्रीय सदस्यमा बस्दिनँ। अब सङ्गठित सदस्य भएर क्रियाशील हुन्छु,” पण्डितले हिमालखबरसँग भने।
नेता पण्डितले कुनै विषयमा पनि असन्तुष्टि नरहेको बताएका छन्। अब कार्यकारी पदमा नबस्ने विचार गरेर केन्द्रीय सदस्य त्यागेको उनको भनाइ छ।
एमाले महाधिवेशनमा पण्डितले सचिव पदमा रुचि राखेका थिए। उनले अध्यक्ष ओलीसँग पनि सचिवका लागि कुराकानी गरेका थिए।
तर, गएराति ओली सार्वजनिक गरेको पदाधिकारीको सूचीमा उनी अटाएका थिएनन्।