राप्रपा अध्यक्षमा कमल थापाको दाबी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापा आसन्न महाधिवेशनमा पनि अध्यक्ष पदका लागि उम्मेदवार बन्ने भएका छन्।
राप्रपाको महाधिवेशन १५ देखि १७ मंसीरमा काठमाडौंमा हुने तय भएको छ। यो महाधिवेशनमा थापाले अध्यक्षमा उम्मेदवारी दिने भएका हुन्।
थापाले १३ मंसीरमा उम्मेदवारी घोषणा गर्न लागेका छन्। काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गरी उनले उम्मेदवारी घोषणा गर्ने प्रचारप्रसार समितिले जनाएको छ।
एकीकरणपछि उनीसँगै पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनी राप्रपाका अध्यक्ष छन्। एकल नेतृत्व गर्न थापाले आसन्न महाधिवेशनमा उम्मेदवारी दिने जनाएका छन्।
यसअघि नै राप्रपा नेता एवं सांसद राजेन्द्र लिङदेनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। उनको समूहबाट नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा महामन्त्रीका उम्मेदवार बन्ने भएका छन्।