महाधिवेशनमा धाँधलीको सङ्केत : भीम रावल
नेकपा (एमाले)का नेता भीम रावलले १०औं राष्ट्रिय महाधिवेशनमा धाँधलीको सङ्केत देखिएको जनाएका छन्।
आइतबार साँझ सामाजिक सञ्जाल ट्वीटर मार्फत आफ्ना भनाइ राख्दै रावलले भनेका छन्, “दिनभरि बैठक नगरेर प्रतिनिधिहरूलाई अलपत्र बनाउने र संस्थागत छलफल नगरी राति ७ बजे बैठक हुने सूचना जारी गर्नु अलोकतान्त्रिक कार्य मात्र होइन, धाँधलीको सङ्केत पनि हो। यसले जनताको बहुदलीय जनवाद अन्तर्गत प्रतिस्पर्धाको राजनीतिमाथि आघात पुग्छ।”
एमालेको शनिबारको बन्द सत्रले सर्वसम्मतिमा नेतृत्व चयन गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो। त्यसका आधारमा ओलीले आज दिनभर नेताहरूसँग छलफल गरी सूची तयार गरेका छन्। ओलीले तयार गरेको सूची अब बस्ने बन्द सत्रमा पेश गरिने भएको छ।
नेता रावलले भने यस प्रक्रियाको विरोध गर्दै आपत्तिजनक भनेका छन्। उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत आफ्नो भनाइ राख्दै निर्वाचनबाट नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन्।
उनले यसलाई पार्टीको हित विपरीतको काम भनेका छन्। “एमालेको महाधिवेशन मंसीर १० देखि १२ गते सम्पन्न गर्ने र ११ गते उम्मेदवारी सम्बन्धी प्रकिया पूरा गरी १२ गते मतदान गर्ने पार्टी निर्णय विपरीत ११ र १२ गते दिनभरि अधिवेशनको कुनै काम नगरी केही व्यक्तिले अन्यत्र बसेर विधि, पद्धति र निर्णय विपरीत गर्नु आपत्तिजनक र पार्टी हितको विरुद्धमा छ,” रावलले भनेका छन्।
रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका छन्। तर, ओलीले भने सहमतिमा नेतृत्व चयन गर्नुपर्ने जनाउँदै केन्द्रीय कमिटीको सूची तयार गरेका छन्।
जसले गर्दा एमालेको केन्द्रीय निर्वाचन आयोगले पनि निर्वाचन प्रक्रिया अघि बढाएको छैन। महाधिवेशन कार्यतालिका अनुसार, शनिबार उम्मेदवारी दर्ता र आइतबार निर्वाचन हुनुपर्ने थियो। तर, अहिलेसम्म त्यो प्रक्रिया शुरू भएको छैन।
आज साँझ ७ बजे चितवनको सौराहास्थित होटल सेभन स्टार परिसरमा बन्द सत्र शुरू हुन लागेको छ। त्यसमा ओलीले केन्द्रीय कमिटीको सूची पेश गर्ने तयारी गरेका छन्।