जोन्टा क्लब अफ काठमाडौंको लैङ्गिक हिंसा र बाल विवाह विरुद्ध अभियान
बाल विवाह, घरेलु हिंसा, कार्यस्थलमा हुने हिंसा र सार्वजनिक स्थलमा हुने हिंसा विरुद्ध आवाज उठाउनुपर्ने कुरामा विशेष जोड दिंदै जोन्टा क्लब अफ काठमाडौंले लैङ्गिक हिंसा विरुद्ध अभियान शुरू गरेको छ।
यो अभियान संयुक्त राष्ट्रसंघको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान (नोभेम्बर २५–डिसेम्बर १०) सम्म चल्नेछ।
जोन्टाले ‘कहिलेकाहीं होइन, कहिले पनि हुँदैन’ भन्ने सन्देश दिने गरी चार वटा छोटा चलचित्र समेत बनाएको छ।
यी चलचित्रले हिंसा, उत्पीडन र बाल–विवाह कहिल्यै पनि सहनु हुँदैन र यसको विरुद्धमा बोल्नैपर्छ भनेर सन्देश दिन खोजेको जोन्टा क्लब अफ काठमाडौंको अध्यक्ष सीमा गोल्छाले बताइन्।
यससँगै जोन्टाले अभियानको एक हिस्साका रूपमा काठमाडौंका विभिन्न सार्वजनिक स्थलमा डिसेम्बर १ देखि सडक नाटक पनि प्रदर्शन गर्दै छ।
जोन्टा काठमाडौंले हिंसामा परेका महिला र बालिकाको सहयोगका लागि ललितपुर महानगरीय प्रहरीको हेल्पलाइन १०० र अन्य विभिन्न संस्थाहरूसँग पनि सहकार्य गरिरहेको छ।
यसका साथै घरेलु हिंसा र कार्यस्थलजन्य हिंसा पीडित महिलालाई कानूनी सल्लाह र सहयोग प्रदान गर्न जोन्टाले राष्ट्रिय महिला आयोगसँग मिलेर ११४५ नम्बरको हेल्पलाइन पनि खडा गरेको छ।