आज एमालेको नेतृत्व चयन हुँदै, कुन क्षेत्रबाट कति?
नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनको अन्तिम दिन आज केन्द्रीय नेतृत्व चयन हुन लागेको छ। अध्यक्ष केपी शर्मा ओलीले आफूसहित पदाधिकारी र केन्द्रीय सदस्यको सूची सार्वजनिक गर्ने भएका छन्।
यसका लागि एमाले महाधिवेशनको बन्द सत्रले अध्यक्ष ओलीलाई सबै अधिकारी दिएको छ। त्यही अधिकार प्रयोग गर्दै ओलीले आज महाधिवेशनको बन्द सत्रमा १९ जना पदाधिकारी सहित ३०१ सदस्यीय केन्द्रीय कमिटीको नामावली पेस गर्नेछन्। त्यसमा असहमत हुनेलाई चुनाव लड्न दिइने जनाइएको छ।
नेतृत्व चयनका लागि अध्यक्ष ओलीलाई अधिकार दिनुअघि शनिबारको बन्द सत्रले सङ्गठन विभाग प्रमुख विष्णु पौडेलको प्रस्ताव पारित गरेको थियो। पौडेलले पेस गरेको साङ्गठनिक प्रस्तावमा केन्द्रीय कमिटीको संरचना कस्तो हुने भनी उल्लेख छ।
एमाले महाधिवेशनले पारित गरेको पौडेलको प्रस्ताव अनुसार, अब एमालेको केन्द्रीय कमिटी ३०१ सदस्यीय हुनेछ। जसमा अध्यक्ष सहित १९ पदाधिकारी हुनेछन्।
त्यस्तै, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव एक, उपमहासचिव तीन र सचिव सात जना रहने व्यवस्था गरिएको छ। बाँकी २८२ केन्द्रीय सदस्य रहनेछन्।
पदाधिकारीका लागि कुनै क्षेत्र नतोकिएको भए पनि केन्द्रीय सदस्य भने कहाँबाट कति छनोट गर्ने भन्ने तय गरिएको छ। जसमा प्रत्येक प्रदेशबाट ६ जना खुला र तीन जना महिला गरी नौ जनाका दरले सातै प्रदेशबाट ६३ सदस्य चयन हुनेछन्।
त्यस्तै, उपत्यका विशेष समन्वय कमिटीबाट एक खुला र एक महिला गरी दुई, सम्पर्क समन्वय कमिटीबाट एक खुला र एक महिला गरी दुई, आदिवासी जनजातिबाट १७ खुला र आठ महिला गरी २५ सदस्य चयन हुनेछन्। तराई-मधेशबाट १३ खुला र ६ महिला गरी १९ सदस्य, दलित समुदायबाट आठ खुला र चार महिला सहित १२ सदस्य, थारू समुदायबाट पाँच खुला र दुई महिला सहित सात सदस्य चयन हुने व्यवस्था गरिएको छ।
यसैगरी, मुस्लिम समुदायबाट चार खुला र एक महिला सहित पाँच सदस्य, श्रमिक क्षेत्रबाट चार खुला र दुई महिला सहित ६ सदस्य, पिछडिएको क्षेत्रबाट तीन खुला र एक महिला सहित चार सदस्य चयन हुनेछन्। यससँगै खुला क्षेत्रबाट ८४ खुला र ५३ महिला सहित १३७ सदस्य चयन गरिने भएको छ।
यसरी अध्यक्ष ओलीले चयन गर्ने केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यको अनुमोदनका लागि आज बिहान १० बजे फेरि महाधिवेशनको बन्द सत्र शुरू हुन लागेको छ।