ओलीले आइतबार केन्द्रीय कमिटीको नामावली सार्वजनिक गर्ने
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आइतबारको बन्द सत्रमा केन्द्रीय कमिटीको नामावली सार्वजनिक गर्ने भएका छन्।
एमालेको १०औं राष्ट्रिय महाधिवेशनको शनिबारको बन्द सत्र अबेर राति टुङ्गिएको छ। फेरि आइतबार बिहान बन्द सत्र चल्ने भएको छ।
आइतबारको बन्द सत्रमा अध्यक्ष ओलीले केन्द्रीय कमिटीको नामावली सार्वजनिक गर्ने बताएका छन्। शनिबार राति बन्द सत्र टुङ्ग्याउँदै ओलीले भने, ''सहमति हुन नसकेको ठाउँमा निर्वाचन हुन्छ। कोही साथीहरू सहमतिमा तयार हुनुहुन्न र म यो पदमा पुग्छु भन्नुहुन्छ भने पाइन्छ।''
भीम रावललाई व्यङ्ग्य गर्दै ओलीले कसैको अधिकार नखोसिने बताए। रावलले आफू अध्यक्ष पदमा लड्ने बताउँदै आएका छन्। बन्द सत्रमा पनि उनले अध्यक्षमा लड्ने बताएका थिए।
त्यसको जवाफमा ओलीले भने, ''म लड्छु लड्छु भन्नुहुन्छ, भोलि तपाईंले मात्र मनोनयन दिएर अरूले दिएन भने कोसँग लड्नुहुन्छ?''
चुनाव लड्न पहिले मनोनयन दर्ता गर्नुपर्ने ओलीको भनाइ थियो। उनले भने, ''भीम रावलजीले म अध्यक्षमा उठ्छु, म फिर्ता लिन्नँ भन्नुभयो। मनोनयन नै गर्नुभएको छैन, केको फिर्ता लिने?''
शनिबारको बन्द सत्रमा नेता विष्णु पौडेलले सर्वसम्मत नेतृत्व चयनका लागि अध्यक्ष ओलीलाई सबै अधिकार दिन प्रस्ताव गरेका थिए। उनको प्रस्ताव महाधिवेशन हलले पारित गरेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए। त्यसमा रावलले भने असहमति जनाएका थिए।
एमाले अध्यक्ष ओलीले महाधिवेशनको शुरूआतदेखि नै सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने बताउँदै आएका थिए। यसका लागि शुक्रबार राति बसेको केन्द्रीय कमिटी बैठकबाट पदाधिकारी थप्ने निर्णय गरेका थिए। त्यसलाई शनिबारको बन्द सत्रले पारित गरिसकेको छ।
एमालेको केन्द्रीय कमिटी ३०१ सदस्यीय हुनेछ। जसमा १९ जना पदाधिकारी हुनेछन्। अध्यक्ष सहित पदाधिकारी र सबै केन्द्रीय सदस्यको चयन गर्ने अधिकार हलले ओलीलाई दिएको छ।