सर्वसम्मत नेतृत्व चयन गर्न ओलीलाई सबै अधिकार
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मतिमा केन्द्रीय कमिटी चयनका लागि सबै अधिकार दिइएको छ।
चितवनको सौराहास्थित होटल सेभेन स्टारमा चलेको एमाले १०औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रले सर्वसम्मति गर्न अध्यक्ष ओलीलाई जिम्मा दिएको हो। सर्वसम्मतिका लागि हलले ओलीलाई अधिकार दिएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए।
''सर्वसम्मतिका लागि अध्यक्ष केपी शर्मा ओलीलाई हलले सम्पूर्ण अधिकार दिएको छ,'' तामाङले हिमालखबरसँग भने।
एमालेको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष ओली सर्वसम्मतिको प्रयास गरिरहेका छन्। यसका लागि उनले शुक्रबार साँझ केन्द्रीय कमिटीबाट पदाधिकारी थप्ने निर्णय गराएका थिए। त्यसलाई राष्ट्रिय महाधिवेशनको बन्द सत्रले पारित गरिसकेको छ।
त्यस्तै, शनिबार बिहान पनि उनले सर्वसम्मतिका लागि नेताहरूसँग छलफल गरेका थिए। एमाले उपाध्यक्ष भीम रावलले आफू अध्यक्ष पदमा उम्मेदवार बन्ने अडान लिएका छन्। उनले यसको विरोध पनि गरेका छन्।
महाधिवेशनको बन्द सत्रले भने नेतृत्व चयनका लागि सर्वसम्मति गर्ने जिम्मा अध्यक्ष ओलीलाई दिएको छ। अब अध्यक्ष ओलीले एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटी चयनका लागि हलले दिएको अधिकार प्रयोग गर्नेछन्।