कुनै सहमति भएको छैन, अध्यक्षमा उम्मेदवारी दिन्छु : भीम रावल
नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले सर्वसम्मतिका लागि कुनै सहमति नभएको र आफूले अध्यक्ष पदका लागि उम्मेदवारी दिने बताएका छन्।
चितवनको सौराहामा शुरू भएको एमालेको १०औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा प्रवेश गर्नुअघि सञ्चारकर्मीसँग कुराकानी गर्दै रावलले अहिलेसम्म कुनै सहमति नभएको बताए। “अहिलेसम्म कुनै सहमति भएको छैन, म अध्यक्षको उम्मेदवारका रूपमा अगाडि बढ्छु,” रावलले भने।
१० मंसीर राति बसेको एमाले केन्द्रीय कमिटी बैठकले सहमति जुटाउनका लागि पदाधिकारी थप्ने निर्णय गरेको थियो। आज बिहान पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि नेताहरूसँग छलफल गरेका थिए।
अध्यक्ष ओलीसँग आफूले कुनै छलफल नगरेको उनले बताए। “हिजो केन्द्रीय कमिटीको बैठकमा भेट भएको हो, त्यस बाहेक कुनै छलफल भएको छैन,” रावलले भने, “केन्द्रीय कमिटीको अध्यक्षमा मेरो उम्मेदवारी दिन्छु, कसैले सर्वसम्मत गर्ने निर्णय भएको भन्छ भने त्यो गलत हो।”
अहिले एमाले राष्ट्रिय महाधिवेशनको बन्द सत्र चलिरहेको छ। त्यसपछि उम्मेदवारी दर्ताको प्रक्रिया शुरू हुने कार्यसूची रहेको छ।