बाँकेका महिलाको फेरि माइतीघर मण्डलमा धर्ना
बाँकेबाट आएका महिलाहरू फेरि काठमाडौंको माइतीघर मण्डलमा धर्नामा बसेका छन्।
बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मीलाई बेपत्ता पारिएको घटनामा न्याय माग्दै उनीहरू दोस्रो पटक धर्नामा बसेका हुन्। यसको नेतृत्व गरिरहेकी अधिकारकर्मी रुबी खानले अनिश्चितकालीन धर्ना थालेको बताइन्।
यसअघि पनि उनीहरू काठमाडौंमा धर्नामा बसेका थिए। ११ दिनसम्म धर्ना दिएपछि सरकारले सहमति गरेको थियो।
जस अनुसार, दुवै घटना छानबिनका लागि समिति गठन गरेको थियो। समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाइसकेको छ।
त्यो प्रतिवेदन सार्वजनिक गर्न र दोषीलाई कारबाही गर्न माग गर्दै उनीहरू आन्दोलनमा उत्रिएका छन्। काठमाडौं आउनुअघि उनीहरूले बाँके जिल्ला प्रशासन कार्यालयमा दुई साता धर्ना दिएका थिए। तर, सुनुवाइ नभएपछि बाँकेबाट फेरि काठमाडौं आउनुपरेको अधिकारकर्मी खानले बताइन्।
उनीहरूले सरकारी छानबिन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न र समितिले गरेको सिफारिशका आधारमा दुवै घटनाको छानबिन तथा दोषीलाई कारबाही गर्न माग राखेका छन्। माग पूरा नहुँदासम्म धर्ना जारी रहने उनले बताइन्।