एमाले महाधिवेशनमा समूहगत प्रचार गर्न नपाइने, यस्तो छ आचारसंहिता
नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारले समूहगत प्रचार गर्न नपाउने भएका छन्।
एमालेको केन्द्रीय निर्वाचन आयोगले आचारसंहिता जारी गरी समूहगत प्रचारमा रोक लगाएको हो। आचारसंहितमा भनिएको छ, “उम्मेदवार तथा मतदाताहरूले व्यक्तिगत आधारमा बाहेक समूहगत आधारमा प्रचारप्रसार गर्न, प्रचार सामग्री प्रकाशन तथा वितरण गर्न, मत माग्न र नामावली बाँड्न पाइनेछैन।”
यससँगै प्यानलको सूची बनाएर मतदान गर्न पनि नपाइने भएको छ। “समूहगत रूपमा उम्मेदवारको नामावली लेखिएको वा छापिएको सामग्रीहरू हेरी मतदान गर्न पनि निषेध गरिएको छ,” आचारसंहितामा भनिएको छ।
एमालेको १०औं राष्ट्रिय महाधिवेशन १० मंसीरमा चितवनको नारायणी नदी किनारमा उद्घाटन गरिएको थियो। आजदेखि सौरहाको होटल सेभन स्टारमा बन्द सत्र शुरू हुँदै छ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार, आज उम्मेदवारी दर्ता र दाबी विरोधको कार्यतालिका छ। यससँगै आजै उम्मेदवारी फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। आइतबार बिहानैदेखि मतदान हुनेछ।