यस्ता छन् एमाले केन्द्रीय कमिटीको अन्तिम बैठकका निर्णय
नेकपा (एमाले)को नवौं केन्द्रीय कमिटीको अन्तिम बैठकले पदाधिकारीको सङ्ख्या थप्ने लगायत विभिन्न निर्णय गरेको छ।
चितवनको सौराहामा गएराति बसेको बैठकले केन्द्रीय कमिटीका पदाधिकारीको सङ्ख्या १९ बनाउने निर्णय गरेको छ। जसमा अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव एक, उपमहासचिव तीन र सचिव सात बनाउने निर्णय भएको हो।
यसअघि १५ पदाधिकारी बनाउने निर्णय गरिएको थियो। अन्तिम बैठकले दुई उपाध्यक्ष र दुई उपमहासचिव थप्ने निर्णय गरेको छ। योसँगै एमाले केन्द्रीय कमिटी अब ३०१ सदस्यीय हुने भएको छ।
एमाले केन्द्रीय कमिटीको अन्तिम बैठकले पोलिटब्यूरो पनि ब्युँताएको छ। यसअघिको बैठकले पोलिटब्यूरो नराख्ने निर्णय गरेको थियो। अब पोलिटब्यूरो ९९ सदस्यीय हुनेछ।
त्यस्तै, स्थायी कमिटी ४५ सदस्यीय बनाउने बैठकले निर्णय गरेको छ। अन्तिम बैठकले केन्द्रीय अनुशासन आयोग २२ सदस्यीय, केन्द्रीय लेखा आयोग २२ सदस्यीय र केन्द्रीय निर्वाचन आयोग २२ सदस्यीय बनाउने पनि निर्णय लिएको छ।
यससँगै केन्द्रीय सल्लाहकार परिषद् ३०१ सदस्यीय, जिल्ला कमिटी ७५ सदस्यीय र प्रदेश कमिटी पनि ७५ सदस्यीय बनाउने निर्णय गरेको छ। केन्द्रीय सल्लाहकार परिषद्का सदस्य भने केन्द्रीय कमिटीले मनोनीत गर्नेछ।
सहमतिका आधारमा नेतृत्व चयनका लागि पदाधिकारी सङ्ख्या बढाउने निर्णय गरिएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जनाएका छन्।
केन्द्रीय कमिटीको प्रस्तावलाई महाधिवेशनको बन्द सत्रमा पेस गरिनेछ। आज चितवनको सौराहमा बन्द सत्र शुरू हुँदै छ।
एमालेको १०औं महाधिवेशन १० मंसीरमा चितवनको नारायणी नदी किनारमा उद्घाटन गरिएको थियो।