आज ४२ जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज ४२ जिल्लामा जिल्ला अधिवेशन हुँदै छ।
प्रतिनिधि सभाका दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा आज जिल्ला अधिवेशन हुन लागेको कांग्रेसले जनाएको छ। यसअघि एक निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन भएको छ।
आज ४२ जिल्लामा जिल्ला अधिवेशन हुन लागेको कांग्रेस निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए। यसमध्ये चितवनमा भने जिल्ला अधिवेशन स्थगन गरिएको छ। नेकपा (एमाले)को १०औं महाधिवेशन चितवनमा हुन लागेकाले जिल्ला अधिवेशन स्थगन गरिएको कांग्रेसले जनाएको छ।
अहिलेसम्म ३० जिल्लामा जिल्ला अधिवेशन भएको कांग्रेसले जनाएको छ। केही जिल्लामा स्थगन भएको र केही जिल्लामा पछि गर्ने तयारी रहेको निर्वाचन समितिका सदस्य घिमिरेले बताए।
आज अधिवेशन हुन लागेका सबै जिल्लामा प्रतिस्पर्धा देखिएको छ। कतै सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष प्रतिस्पर्धामा छन् भने कतै देउवा पक्षकै नेता प्रतिस्पर्धामा उत्रिएका छन्।
जिल्लापछि कांग्रेसको प्रदेश अधिवेशन हुनेछ। १६ देखि १७ मंसीरमा प्रदेश अधिवेशन र त्यसपछि २४ देखि २६ मंसीरमा केन्द्रीय महाधिवेशन तोकिएको छ।