आज चितवनमा शुरू हुँदै एमालेको राष्ट्रिय महाधिवेशन
नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन आज चितवनमा शुरू हुन लागेको छ।
तीन दिनसम्म चल्ने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमालेले जनाएको छ। महाधिवेशनमा दुई हजार एक सय ७५ प्रतिनिधि र १०३ जना पर्यवेक्षक सहभागी हुनेछन्। प्रतिनिधि भूगोल, जनसङ्गठन, विभाग र सम्पर्क कमिटी र प्रवासबाट सहभागी हुने एमालेले जनाएको छ।
जसमध्ये पाँच प्रतिशत अर्थात् १०६ जना मनोनीत गरिएका छन्। त्यस्तै, २०९ जना दलित, उत्पीडित र ६२७ जना महिला रहेको एमाले प्रचार विभाग प्रमुख योगश भट्टराईले बताए।
महाधिवेशनमा प्रधानमन्त्री एवंं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहित विभिन्न दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ। भट्टराईका अनुसार, भारत, बाङ्लादेश, श्रीलङ्का, कम्बोडिया लगायत देशबाट राजनीतिक दलका प्रतिनिधि पनि आएका छन्।
११ मंसीर बिहान ८ः३० बजेदेखि सौराहामा बन्द सत्र शुरू हुनेछ। त्यही दिन उम्मेदवारी दर्ता, दाबी-विरोध र उम्मेदवारी फिर्ताको प्रक्रिया सकेर साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ।
१२ मंसीर बिहान ८ बजेदेखि मतदान शुरू हुने एमालेले जनाएको छ। मतदानका लागि १०० वटा भोटिङ मेसिन तयार गरिएका छन्।
बन्द सत्रमा प्रतिनिधिको स्वास्थ्य परीक्षण गरेपछि मात्रै प्रवेश दिइने भएको छ। स्वास्थ्य प्राविधिकको टोलीले बन्द सत्रस्थलमा प्रतिनिधिलाई रुघाखोकी तथा ज्वरो परीक्षणपछि मात्रै प्रवेश दिने जनाइएको छ।
एमाले महाधिवेशनको बन्द सत्रस्थल सौराहाको होटल सेभेन स्टारमा महाधिवेशन स्वास्थ्य समितिले सबै प्रतिनिधिको स्वास्थ्य परीक्षण गर्ने गरी चिकित्सक लगायत स्वास्थ्यकर्मी परिचालन गरेको समितिका सदस्य लीलाधर पौडेलले बताए।