राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरेका छन्।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेतृत्वले पार्टीलाई सही दिशा दिन नसकेको भन्दै लिङ्देनले आफू अध्यक्षको उम्मेदवारी हुने घोषणा गरेका हुन्।
लिङ्देन प्रतिनिधि सभामा राप्रपाको प्रतिनिधित्व गर्ने एक मात्र सांसद हुन्। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ३ बाट कांग्रेस नेता कृष्ण सिटौलालाई हराउँदै लिङ्देन निर्वाचित भएका थिए।
राप्रपाको एकता महाधिवेशन १५–१७ मंसीरमा काठमाडौंमा हुँदै छ।
लिङ्देनले नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाको साथ पाएका छन्। उम्मेदवारी घोषणा कार्यक्रममा राणाले नयाँ अनुहारले हस्तक्षेप नगरे पार्टीको भविष्य अन्धकार हुने बताए। राणाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्। दुवै नेता राप्रपामा प्रभावशाली मानिन्छन्।