कांग्रेस सभापतिमा निधिको उम्मेदवारी घोषणा
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी १४औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।
काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा बिहीबार पत्रकार सम्मेलन गरी निधिले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका हुन्। उनले सभापतिको उम्मेदवारी घोषणा गर्नुअघि सबै नेतासँग छलफल गरेको बताए।
“विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले नेपाली कांग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु,” निधिले भने, “परिवर्तित राजनीतिक प्रणालीको व्यावहारिक पक्षहरूलाई सार्थक गर्नुपर्ने विवेक र तर्कको कसीमा मेरो यो उम्मेदवारी रहेको समेत स्पष्ट गर्न चाहन्छु।”
कांग्रेसमा पुस्तान्तरणका लागि आफूले उम्मेदवारी दिएको उनको भनाइ थियो। आफू सभापति भएमा कांग्रेसलाई आगामी निर्वाचनमा बहुमत सहित विजयी गराउने योजना रहेको बताए।