एमालेमा १०३ प्रतिनिधि तीन नेताले टुङ्गो लगाउने
नेकपा (एमाले) स्थायी कमिटी बैठकले मनोनित प्रतिनिधिहरूको अन्तिम टुङ्गो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओली सहित तीन नेतालाई दिएको छ।
अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल र संगठन विभाग प्रमुख विष्णु पौडेललाई मनोनीत प्रतिनिधिहरूको नाम फाइनल गर्ने जिम्मेवारी दिइएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए। एमालेमा पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनीत गर्ने व्यवस्था छ।
स्थायी कमिटीको बैठकमा मनोनीत गर्नुपर्ने प्रतिनिधिको विषयमा छलफल भए पनि १०३ जनाको नाम चयन हुन बाँकी छ।
चितवनमा १० मंसीरबाट शुरू हुने महाधिवेशनमा दुई हजार २९७ जना सहभागी हुने भएका छन्। जसमध्ये मनोनीत सहित १७० प्रतिनिधिको छनोट हुन बाँकी छ। महोत्तरी, रौतहट र भूपूसैनिक गरी ६७ प्रतिनिधिको चयन भइसकेको छैन।
एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार, कुल प्रतिनिधिमध्ये ५७६ महिला र १९५ दलित समुदायका छन् । दलित प्रतिनिधिमध्ये ६२ जना महिला छन्।