एनआरएनलाई डलर खाता खोल्न दिने प्रस्ताव, क्रिप्टोकरेन्सीमा अर्थमन्त्री 'सकारात्मक'
गैरआवासीय नेपाली (एनआरएन)लाई डलर खाता खोल्न दिनेबारे छलफल भइरहेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्।
मंगलबार राष्ट्र ब्यांक परिसरमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारे समीक्षात्मक कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन्।
विदेशी मुद्रा सञ्चितिको अवस्थालाई सन्तुलनमा राख्न एनआरएनलाई डलर खाता खोल्न दिनेबारे छलफल भइरहेको अर्थमन्त्री शर्माले बताए। “सञ्चितिको अवस्थालाई अलिकति सन्तुलन गर्नका लागि एनआरएनहरूले डलर खाता खोल्न पाउनेबारे हाम्रो कुरा भइरहेको छ,” मन्त्री शर्माले भने, "उनीहरूले यहाँ पैसा राख्न पाउने, ब्याज पाउने र उता लैजान पाउने सहज खालको वातावरण निर्माण गर्नेबारे हाम्रो छलफल भइरहेको हो।”
एनआरएनको पैसा बाहिरै रहेकाले त्यसलाई नेपाल भित्र्याएर लगानी गरी सदुपयोग गर्न सकिने उनले बताए। मन्त्री शर्माले पछिल्लो समय क्रिप्टोकरेन्सीको विषयमा चर्चा भइरहेको बताउँदै त्यसभन्दा पहिले पूर्ण रूपमा डिजिटल कारोबार गर्नुपर्ने बताए।
“हामी डिजिटल कारोबारमै जान सकेका छैनौं,” उनले भने, “पहिले पूर्ण रूपमा डिजिटल कारोबार लागू गर्ने वातावरण बनाऔं, त्यसपछि क्रिप्टोकरेन्सीमा जान सकिन्छ।”
पूर्ण डिजिटल कारोबारमा जान आम मानिसलाई वित्तीय साक्षरता भने झैं डिजिटल साक्षरता आवश्यक हुने पनि उनले बताए।
अर्थमन्त्री शर्माले राष्ट्र ब्यांकका कर्मचारीसँग ब्यांक तथा वित्तीय संस्थाहरू डराउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए। अझै पनि कर कार्यालयको अधिकृतसँग करदाता, भन्सारको अधिकृतसँग आयातकर्ता र राष्ट्र ब्यांकका अनुगमन कर्मचारीसँग ब्यांकहरू डराउनुपर्ने स्थिति रहेकाले त्यसलाई हटाउनुपर्ने शर्माकाे भनाइ छ।
सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त गर्न पूँजीगत खर्च बढाउने, पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्ने तथा बन्द उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी रहेको मन्त्री शर्माले दाबी गरे। उनले हुन्डीलाई निरुत्साहित गर्न वैदेशिक रोजगारीमा रहेकाको सञ्चय कोष व्यवस्था गर्ने विषयमा पनि मन्त्रालयमा छलफल भइरहेको बताए।
मंगलबार नै राष्ट्र ब्यांकको कामकारबाहीबारे सङ्क्षिप्त जानकारी लिंदै उनले हुन्डी कारोबारलाई रोक्ने व्यवस्था गर्नेबारे छलफल भइरहेको बताए। “विदेशमा रहेकाको सञ्चय कोष बनाएर केही रकम हामीले यहाँ थपिदिएर औपचारिक माध्यमबाटै सबै पैसा पठाउने वातावरण बनाउने तयारी भइरहेको छ,” मन्त्री शर्माले भने।