आगामी निर्वाचनमा चितवनबाटै उठ्छुः दाहाल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आगामी आम निर्वाचनमा चितवनबाटै उम्मेदवार बन्ने बताएका छन्।
चितवन भूमिगत संयोजनात्मक जल सिंचाइ आयोजनाले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबवेल सिंचाइ प्रणालीको उद्घाटन गर्दै अध्यक्ष दाहालले गत निर्वाचनमा आफूले चितवनका जनतासँग गरेको वाचा पूरा गर्दै आएको उल्लेख गरे। उनले आगामी निर्वाचनमा चितवन क्षेत्र नं ३ बाटै आफ्नो उम्मेदवारी रहने बताए।
भरतपुर महानगरको विकास लोभलाग्दो रहेको भन्दै अध्यक्ष दाहालले यसलाई अझ उचाइमा पुर्याउन आफ्नो उम्मेदवारी रहने जिकिर गरे। भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निर्वाचन अगाडि जग्गा वितरण गरिने उनको भनाइ थियो। “चितवनमा पहिलो चरणमा जग्गा वितरण गरिन्छ,” दाहालले भने।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले समृद्ध तराई–मधेश कार्यक्रम अन्तर्गत आयोजना शुरू भएको बताउँदै भरतपुर र माडी क्षेत्रमा कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरिन्। यी क्षेत्रमा चार अर्बको लगानी हुने उनको भनाइ थियो। किसानले अब सिंचाइ अभाव महसूस गर्नुनपर्ने उनले बताइन्।
(रासस)