विवेकशील नामका दुई पार्टी दर्ता, कसरी पाए उस्तै नाम?
निर्वाचन आयोगमा नयाँ दल नेपाल विवेकशील पार्टी दर्ता भएको छ। कर्मा लामा तामाङको अध्यक्षतामा गठन भएको नयाँ पार्टीले ३ मंसीरमा आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ।
उपाध्यक्षको जिम्मेवारी अजिता राईले पाएकी छन्। सचिवमा छिरिङ तामाङ, संगीता बाटाजू, शशिविक्रम कार्की छन्। २१ सदस्यीय तदर्थ संघीय समितिमा अधिकांश तत्कालीन विवेकशील नेपाली दलका सदस्यहरू छन्।
उपाध्यक्ष राईले तत्कालीन साझा पार्टीसँगको एकीकरणमा सहभागी नभएका र केही नयाँ सदस्य थपेर पार्टी दर्ता गराएको बताइन्। “साझासँगको एकीकरण गलत भनेर बसेका र केही नयाँ साथी मिलेर पार्टी बनाएका हौं,” उनी भन्छिन्, “अब साझासँग असन्तुष्ट साथीहरू पनि आउन सक्नुहुन्छ।”
नेपाल विवेकशील पार्टीले दलको नाम र चुनाव चिह्न दुवैमा विवेकशील नेपाली दलको विरासत पछ्याएको छ। विवेकशील नेपाली दलका संस्थापक संयोजक उज्ज्वल थापाले पार्टी दर्ता पूर्व काठमाडौंबाट उम्मेदवारी दिंदा कुकुर चुनाव चिह्न लिएका थिए। थापाकै नेतृत्वमा २०७१ जेठमा विवेकशील नेपाली दल निर्वाचन आयोगमा दर्ता भएको थियो।
२०७४ को स्थानीय तह निर्वाचनमा एक्लाएक्लै लडेका साझा पार्टी र विवेकशील नेपाली दलबीच २०७४ साउनमा एकता भएको थियो। साझाका संस्थापक अध्यक्ष रवीन्द्र मिश्र र विवेकशील नेपालीका संस्थापक संयोजक उज्ज्वल थापाले संयुक्त रूपमा नेतृत्व गरेको पार्टी २०७५ पुसमा फुट्यो। महाधिवेशनबाट विवेकशीलको नेतृत्वमा मिलन पाण्डे आएपछि दुई पार्टीबीच पुनः एकता भयो।
२०७७ मंसीरमा एकता भएको पार्टी पुनः फुटको डिलमा पुगेको छ। यही वेला गत वर्ष एकीकरण हुँदा असहमत भई बाहिरै रहेको समूहले नयाँ पार्टी जन्माएको हो। विवेकशील नेपाली दल बहुमत सहित एकीकरणमा गएपछि आफू सहित १३ केन्द्रीय सदस्यले फरक राजनीतिक अभियान चलाएको उपाध्यक्ष राईले बताइन्। उनले भनिन्, “अहिले चलाइरहेको राजनीतिक अभियानलाई थप व्यवस्थित र बलियो बनाउन पार्टी गठन गरेका हौं।”
यसरी भयाे दर्ता
राजनीतिक दल सम्बन्धी ऐनमा दलको नाम वा चुनाव चिह्न आयोगमा कायम रहेका दलको नाम वा चिह्नसँग मिल्ने भएमा दर्ता हुन नसक्ने उल्लेख छ। तर, विवेकशील साझा पार्टी दर्ता कायम हुँदाहुँदै आयोगले नेपाल विवेकशील पार्टीलाई दर्ता गरेको छ। मिश्र नेतृत्वको विवेकशील साझा पार्टीको दर्ता नम्बर १३८ छ भने नेपाल विवेकशील पार्टी १७४ नम्बरमा दर्ता भएको छ।
नेपाल विवेकशील पार्टी दर्ता गर्ने समूहले शुरूआतमा आयोगमा विवेकशील पार्टी नामका लागि निवेदन दिएको थियो। तर, विवेकशील मात्रै नाम आयोगले दर्ता गर्न इन्कार गर्यो। पछि विवेकशीलको अगाडि नेपाल थपेपछि आयोगले दर्ता प्रक्रिया अगाडि बढाएको हो।
निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरु वाग्ले ऐनसँग नबाझिएको र नामको अगाडि नै फरक शब्द रहेकाले दर्ता गरिएको बताउँछन्। “पहिलो शब्द नै भिन्न भएकाले आयुक्तहरूसँगको सल्लाहमै दर्ताको निर्णय गरिएको हो,” उनी भन्छन्, “विवेकशील साझाका साथै अगाडि पछाडि फुर्को जोडिएको भए चाहिं दर्ता हुँदैनथ्यो।”
उपाध्यक्ष राई विवेकशील नेपाली दलकै परिमार्जन सहितको निरन्तरताकै कारण उस्तै नाम रोजेको बताउँछिन्। “दर्ता भर्खरै भए पनि हामी अभियानका रूपमा सक्रिय थियौं,” उनी भन्छिन्, “विवेकशील नेपाली दलकै विचार, सिद्धान्त र लिगेसीकै परिमार्जित रूप नेपाल विवेकशील पार्टी हो।”