पूर्व सभासद्लाई पक्राउ गर्न माग गर्दै बाँके प्रशासनमा धर्ना
पूर्व सभासद् बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै अधिकारकर्मी महिलाले जिल्ला प्रशासन कार्यालय, बाँकेमा धर्ना दिएका छन्।
महिला अधिकार मञ्चको अगुवाइमा उनीहरूले आइतबार बाँके प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन्। बाँकेकी निर्मला कुर्मी बेपत्ता प्रकरणमा आराेपित पूर्व सभासद् कुर्मीलाई पक्राउ गर्न माग गरेका छन्।
उनीहरूले २७ कात्तिकबाट धर्ना दिन थालेका हुन्। माग पूरा नहुँदासम्म धर्ना जारी रहने अधिकारकर्मी रुबी खानले जनाएकी छन्।
उनीहरूले निर्मला कुर्मी बेपत्ता घटनामा मुख्य आरोपी पूर्व सभासद् कुर्मीलाई तत्काल पक्राउ गर्न माग गरेका छन्। त्यस्तै, निर्मला कुर्मी र घरेलु हिंसापीडित नन्कुन्नी धोबीको घटना छानबिन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।
यसअघि अधिकारकर्मी खानको नेतृत्वमा बाँकेबाट आएका महिलाहरूले काठमाडाैंमा धर्ना दिएका थिए। त्यसपछि सरकारले छानबिन समिति गठन गरेको थियो।
बाँके पुगेर छानबिन गरेको समितिले सरकारलाई प्रतिवेदन बुझाइसकेको छ। जसमा पूर्व सभासद् कुर्मीमाथि अनुसन्धान गर्नुपर्ने सुझाव दिइएको छ।
त्यस्तै, धर्नामा बसेका महिलाहरूले निर्मला कुर्मी बेपत्ता घटनाको पुनः छानबिन गर्नुपर्ने माग गरेका छन्। यससँगै छानबिन समितिले गरेको सिफारिशलाई कार्यान्वयन गर्न र निर्मला कुर्मीको सम्पत्तिका विषयमा छानबिन गर्न माग गरेका छन्।