जनकपुरको देवपुरा रुपैठामा निषेधाज्ञा
जिल्ला प्रशासन कार्यालय, धनुषाले जनकपुरधाम उपमहानगरपालिका-२० देवपुरा रुपैठामा निषेधाज्ञा जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय, धनुषाले शनिबार सूचना जारी गरी देवपुरा रुपैठामा दिउसो २ बजेदेखि २८ कात्तिक राति १० बजेसम्म निषेधाज्ञा लागू गरिएको जनाइएको छ। प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जारी गरेको आदेशमा ‘केही उच्छृङ्खल व्यक्ति तथा समूहहरूले जिल्ला धनुषा जनकपुरधाम उपमहानगरपालिका वडा नंं २० देवपुरा रुपैठा भन्ने ठाउँमा सम्प्रदायिक सद्भावमा खलल पुग्ने गरी नारा जुलुस हुलहुज्जत गरिरहेको बुझिएको’ जनाइएको छ।
त्यसलाई रोक्न र शान्ति सुरक्षा कायम गर्न निषेधाज्ञा जारी गरिएको जनाइएको छ। ‘स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, घेराउ, र्याली, सभा जस्ता क्रियाकलाप गर्न नपाउने गरी मिति २०७८/०७/२७ गते दिउसो २ः०० बजेदेखि २०७८/०७/२८ गते राति १०ः०० बजेसम्मको लागि निषेधाज्ञा आदेश जारी गरिएको छ।”
जिल्ला प्रशासन कायालयका अनुसार पूर्वमा जलाद नदीको कल्री बाँध, पश्चिममा जनकपुर जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा लगाइएको छ। आदेश उल्लंघन गर्ने जोकोहीलाई पनि कारबाही गरिने प्रमुख जिल्ला अधिकारी बास्तोलाले जनाएका छन्।
यो क्षेत्रमा छठ पर्वदेखि दुई समुदायबीच विवाद भइरहेको थियो। विवाद बढ्दै जाँदा सम्प्रादायिक सद्भाव खलल पुग्ने अवस्था आएपछि निषेधाज्ञा जारी गरिएको हो।