माधव नेपालले पत्रकारलाई भने- रक्सी नखाँदा उद्योग बन्द हुन्छ कि भन्ने चिन्ता नगर्नुस्
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समाजका विकृति विरुद्ध लाग्न पत्रकारलाई आग्रह गरेका छन्।
मदिरा सेवनका कारण पनि समाजमा विकृत बढेकाले त्यसका विरुद्ध लाग्नुपर्ने उनको भनाइ थियो। विशेष गरेर घरेलु हिंसा घटना मदिरा सेवनकै कारण भइरहेको उनको जिकिर थियो।
नयाँ बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा आयोजित समाजवादी प्रेस संगठन नेपालको घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पत्रकारलाई रक्सी नखान आग्रह गरे। यसका लागि उनले सर्लाहीको एउटा उदाहरण झिके।
“साँझ पर्न पाएको छैन, गर्मी महीनामा साढे ७ बजे, जाडो महीनामा साढे ५ बजे होटलका कोठा भरिभराउ हुन्छन्। टेबुलभरीमा बोतलै बोतल देखिन्छन्, गिलास ठोकाठोक भइरहेको हुन्छन्, गर्मागर्मी चर्काचर्की हुन्छन्, अनि घरमा गएर झगडा गर्छन् र परिवारमा समस्या खडा हुन्छ,” नेपालले भने, “ति पार्टीका नेता को होलान, म फोटो खिच्न चाहन्छु, गोप्य रुपमा फोटो दिनुहोला भनेको थिए, भागाभाग भएछ।”
मिडियाकर्मीमा पक्कै पनि त्यस्तो नहोला भन्ने विश्वास गरेको उनले बताए। एकीकृत समाजवादी निटक पत्रकारहरूलाई अध्यक्ष नेपालले भने, “तपाईहरू पनि साँझ पर्ने वेला कुनै होटल, त्यो पनि पाँच तारे होटल धाएर नखाइकन निद्रा नलाग्ने अवस्था पक्कै छैन होला। यो कुरा भएको थाहा पायो भने म राम्रो मान्दिन्।”
उनले रक्सीले हुने हानीका विषयमा पनि सुनाए। “रक्सीले मान्छेको स्वास्थ्य खतम पार्छ, आयु घटाउछ, रोग निम्त्याउछ। जाँड रक्सी खायो भने प्रतिष्ठा बढ्छ भन्ने नठान्नु होला। यो खादै नखानुस, नखाए तपाईको वेट घट्दैन,” पूर्वप्रधानमन्त्री नेपालले भने, “मलाई भन्थे, तपाई कस्तो मान्छे, तपाई प्रधानमन्त्री मान्छे नखाएपछि तपाईको व्यक्तित्व कसरी बढ्छ?”
रक्सी खाएर व्यक्तित्व नबढ्ने उनको भनाइ थियो। “खाएर व्यक्तित्व बढ्दैन, नखाएर व्यक्तित्व बढ्छ। राम्रो चिज खानुस्, स्वास्थ्य राम्रो बनाउनुस्, तखडा हुनुस्, दिमाग तिखो बनाउनुस् र राम्रो काम गर्नुस्,” अध्यक्ष नेपालले भने, “त्यसको व्यवसाय चल्दैन कि चिन्ता नगर्नुस्। रक्सीको उद्योग बन्द हुन्छ कि भन्ने चिन्ता नगर्नुस्। त्यो चिन्ता गर्ने काम हाम्रो होइन।”
उनले सबै खालका विसंगति र विकृतिविरुद्ध कलम चलाउन पत्रकारलाई आग्रह गरे। राक्षसलाई देवता नबनाउन र राम्रो मान्छेलाई राक्षस नबनाउन आग्रह गर्दै भने, “पानीको पानी दुधको दूध छुट्याउनुस्, राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई नराम्रो भन्नुस्।”
अध्यक्ष नेपालले आफ्नो पार्टी समाजवादको यात्रा रहेको बताए। “हामी समाजवादको यात्रामा जान चाहन्छौं। नेपाली मोडलको समाजवाद विकास गर्न चाहन्छौं,” नेपालले त्यसको ब्याख्या गर्दै भने, “समाजिक न्याय, समानता र जनताको समृद्धिका अघि बढ्छौं।”