काठमाडौंमा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने
तिहारको वेला काठमाडौंमा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मंगलबार सूचना जारी गरी राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न आग्रह गरेको छ। देउसी भैलो खेल्दा पनि कोभिड–१९ संक्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना गर्न सचेत गराइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जारी गरेको सूचनामा भनिएको छ, “कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गरी देउसी भैलो, नाचगान लगायत कार्यहरू राति ९ बजेसम्म मात्र सभ्य एवं शान्तिपूर्वक गर्ने र यस्ता कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पर्ने कुनै पनि गतिविधिहरू नगर्ने/नगराउने।”
यससँगै जिल्ला प्रशासनले पटाका, आतिसबाजी जस्ता प्रज्वलनशील एवं विस्फोटक पदार्थ उत्पादन, ओसारपसार, बिक्री वितरण र प्रयोग नगर्न र नगराउन पनि आग्रह गरेको छ।