दलित समुदायका अगुवा भन्छन्– छुवाछूत मुक्त समाज निर्माण गर्न जनप्रतिनिधि लाग्नुपर्छ
काठमाडौंमा आइतबारदेखि ‘दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका’ विषयक राष्ट्रिय सम्मेलन शुरू भएको छ।
दुई दिनसम्म चल्ने सम्मेलनमा देशभरका जनप्रतिनिधि सहभागी छन्। सम्मेलनमा सहभागीले राखेको विचार र छलफलपछि अबको दलित आन्दोलन कसरी अगाडि बढाउने भन्ने निर्क्योल निकालिनेछ।
यही विषयमा केन्द्रित रहेर हामीले सम्मेलनमा सहभागीलाई ‘अबको दलित आन्दोलन कस्तो हुनुपर्छ?’ भनेर सोधेका थियौं। उनीहरूको जवाफको सम्पादित अंश:
गणेश विश्वकर्मा, अध्यक्ष, नेपाल दलित मुक्ति सङ्गठन
‘दलितको हक अधिकारका लागि नयाँ कानून निर्माण गर्नुपर्छ’
नयाँ संविधानसँगै हरेक वडासम्म दलित जनप्रतिनिधिको प्रतिनिधित्व सुनिश्चित भएको छ। यसलाई हामीले ऐतिहासिक उपलब्धिका रूपमा लिएका छौं। यो प्रतिनिधित्वले छुवाछूत अन्त्य गर्न महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने मलाई लागेको छ।
तथापि हामीले आशा गरेका थुप्रै काम हुन बाँकी छन्। मन्दिरमा पूजा गर्न जान्छु भन्दा एउटा दलितको हत्या हुँदा समेत आम समुदाय र सरकार चूप बसेको छ। यस्ता क्रियाकलाप विरुद्ध सम्पूर्ण दलित समुदाय र जनप्रतिनिधि एक भएर अगाडि बढ्नुपर्छ।
अब ६ हजारभन्दा बढी स्थानीय तहका जनप्रतिनिधिले छुवाछूत मुक्त समाज घोषणा र कार्यान्वयन गर्नुपर्छ। दलितको हक अधिकारका लागि स्थानीय, प्रदेश र संघीय सरकारले नयाँ कानून निर्माण गर्न जरुरी छ। जनप्रतिनिधिले दलितको आर्थिक, समाजिक रूपान्तरणका लागि अग्रसरता लिन आवश्यक छ।
अञ्जना विशंखे, प्रतिनिधि सभा सदस्य
‘दलित महिला अझै अगाडि आउन जरुरी छ’
दलित आन्दोलनलाई सशक्त रूपमा अगाडि बढाउन हाम्रो भूमिका कस्तो रहन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। झण्डै ७०/७५ वर्षदेखि नै दलितहरूले सङ्गठित रूपमा आवाज उठाउन थालेका हुन्। तर पनि, दलित आन्दोलनले सोचे जस्तो उपलब्धि पाउन सकेको छैन।
राजनीतिक आन्दोलनमा पनि दलितहरूको भूमिका ठूलो छ। धेरैले बलिदानी दिएका छन्। तर, पनि निर्णायक तहमा दलितको प्रतिनिधित्व अझै देखिंदैन। समावेशिताको सिद्धान्त अनुसार, हरेक तहमा दलितको १३ प्रतिशत प्रतिनिधित्व हुनुपर्ने हो, त्यसो भएको पाइँदैन।
सरकारमा समेत एक जनाभन्दा बढी दलितको प्रतिनिधित्व भएको पाइँदैन। दलितलाई गर्नुपर्ने नियुक्तिमा पनि ९० प्रतिशत पुरुष छन्। दलित महिला अझै अगाडि आउन जरुरी छ। जनप्रतिनिधिले यसमा विशेष ध्यान दिनुपर्ने र आफ्नो पार्टी कमिटीमा आवाज राख्नुपर्छ।
जितु गौतम, अध्यक्ष, नेपाल उत्पीडित जाति मुक्ति समाज
‘हाम्रै जीवनकालमा परिवर्तन र छुवाछूत मुक्त समाज निर्माण’
दलित समुदाय अहिले पनि आत्मसम्मानको खोजीमा छ। विभिन्न राजनीतिक आन्दोलनसँगै प्राप्त उपलब्धिको कार्यान्वयनको आभास गर्न पाएका छैनौं।
हाम्रै जीवनकालमा परिवर्तन र छुवाछूत मुक्त समाज निर्माणमा हामी लागेका छौं। परिवर्तन र दलित समुदायको अधिकार प्राप्तिका लागि सबै एकै ठाउँमा हुनुपर्छ।
दलितको आन्दोलनमा पार्टी विचार र सिद्धान्तबाट उठेर सबै एकजुट हुनुको विकल्प छैन। त्यसो भए मात्रै हामी उपलब्धि हासिल गर्न सक्छौं।
सुजाता परियार, प्रतिनिधि सभा सदस्य
‘छुवाछूत गर्नेलाई कडा दण्ड सजायको आवश्यकता छ’
दलित समुदाय अझै हेपिएको, चेपिएको अवस्थामा छ। गाउँगाउँ मात्रै होइन, शहरमा समेत छुवाछूत हटेको छैन। समाजको एउटा वर्गले दलितलाई सधैं तल्लो तहमै रहेको हेर्न चाहन्छ।
त्यसैले पनि विभेद हटेको छैन। तर, यो विभेदलाई हटाउन हामी दिनरात खटेका छौं। हरेक व्यक्तिले छुवाछूत विरुद्ध चेतना फैलाउन आवश्यक छ।
स्थानीय सरकार, प्रहरी प्रशासन विशेष सचेत भएर छुवाछूत र विभेद गर्नेलाई कडा कारबाही गर्नुपर्छ। जनप्रतिनिधिले पार्टीको अजेन्डाभन्दा माथि उठेर दलित समुदायको आवाज उठाउन सक्नुपर्छ। छुवाछूत गर्नेलाई कडा दण्ड सजायको आवश्यकता छ।