मैले सकिनँ भनेर भीम रावलले राजीनामा दिनुभयो : ओली
नेकपा (एमाले) उपाध्यक्ष भीम रावलले सहजीकरण गर्न नसकेर राजीनामा दिएको अध्यक्ष केपी शर्मा ओलीले जनाएका छन्।
एमाले केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले भने, “सहजीकरण गर्ने कामको संयोजक हुनुहुन्थ्यो। मैले गरेर सहजीकरण भएन, सकिनँ भनेर राजीनामा भन्नुभयो।”
रावल एमाले एकताका लागि गरिएको १० बुँदे सहमति कार्यान्वयन समितिका संयोजक रहेका थिए। ओलीले १० बुँदेको ट्याउँ ट्याउँ नगर्न भनेपछि उनले संयोजकबाट राजीनामा दिने घोषणा गरेका थिए।
उपाध्यक्ष रावलले संयोजकबाट दिएको राजीनामा ठूलो कुरा नभएको अध्यक्ष ओलीको भनाइ थियो। “मेरो राजीनामा भन्नुभयो, त्यो ठूलो कुरा होइन। त्यो लिखित पनि होइन, त्यो स्वीकार्य पनि होइन, अस्वीकार्य पनि होइन, केही पनि होइन,” ओलीले भने।
माधवकुमार नेपालको साथ छाडेर एमालेमै बसेका १० जना नेताको विषयमा सोधिएको प्रश्नमा पनि ओलीले ‘को दश भाइ?’ भन्दै हाँसेर जवाफ दिए। ‘को १० भाइ? १० जना भन्ने कुरै होइन नि,” ओलीले भने, “अब १० जना र १२ जना भन्ने कुरै छैन, पार्टी एकढिक्का छ।”
अध्यक्ष ओलीले शनिबार केन्द्रीय कार्यालयबाट एमालेका वडा अधिवेशनको उद्घाटन गरेका थिए। उनले भर्चुअल माध्यमबाट एकैपटक देशभरका वडा अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गरेका थिए।
बाढी र पहिरो प्रभावित क्षेत्र बाहेक अन्य वडामा एमालेको अधिवेशन भएको छ। ९ कात्तिकमा स्थानीय तहको अधिवेशन गर्ने तय गरिएको छ।