प्रदेश १ र बागमतीमा एमालेले सभामुखसँग मिलेमतो गर्यो : एकीकृत समाजवादी
प्रदेश १ र बागमती प्रदेशमा नेकपा (एमाले)ले सभामुखसँग मिलेमतो गरेको माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आरोप लगाएको छ।
एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले शुक्रबार जारी गरेको विज्ञप्तिमा यसलाई एमालेको निकृष्ट सत्तालिप्सा भनिएको छ। “प्रदेश १ र बागमती प्रदेश सरकारको नेतृत्व हाम्रो पार्टीले गर्ने सहमति पाँच दलीय गठबन्धनको बैठकले गरिसकेको छ,” खतिवडाले विज्ञप्तिमा भनेका छन्, “यद्यपि एमालेले दुवै प्रदेश सरकार अल्पमतमा परिसके पनि निकृष्ट सत्तालिप्सा प्रदर्शन गर्दै विश्वासको मत लिने प्रक्रिया टार्न सभामुखसँग मिलेमतो गर्दै रहेको तथ्य जगजाहेर छ।”
मिलेमतो गरे पनि केही दिनमै दुवै प्रदेशबाट एमाले सत्ताच्युत हुने खतिवडाको भनाइ छ। प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार विश्वासको मत लिने तय गरिएको भए पनि सभामुख प्रदीपकुमार भण्डारीले ७ कात्तिकसम्म प्रदेश सभा बैठक स्थगित गरेका थिए।
त्यस्तै, बागमती प्रदेशमा बिहीबार विश्वासकाे मत लिने तय भए पनि एमाले सांसदले उपस्थित नहुने जनाएपछि १० कात्तिकसम्मका लागि बैठक स्थगित गरिएको थियो। दुवै प्रदेशमा एकीकृत समाजवादीको नेतृत्वमा सरकार गठन गर्ने विपक्षी गठबन्धनले तय गरेको छ।
७३ जिल्ला कमिटी गठन
एकीकृत समाजवादीले ७३ वटा जिल्लामा सङ्गठन विस्तार गरेको जनाएको छ। मनाङ, मुस्ताङ लगायत चार वटा जिल्लामा मात्रै कमिटी गठन गर्न बाँकी रहेको प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए। वर्षा, बाढी, पहिरो जस्ता कारणले ढिलो भएका जिल्लामा पनि तुरुन्तै सङ्गठन निर्माण गरिने उनले बताए।
चार वटा गैरभौगोलिक जिल्ला कमिटी समेत गठन भइसकेको खतिवडाले बताएका छन्। एमालेबाट विभाजित भएर गठन भएको यो पार्टीले सङ्गठन विस्तारलाई तीव्रता दिएको छ।