रुबी खानले तोडिन् अनशन, छानबिन समिति गठन
सरकारसँग सहमति भएपछि ११ दिनदेखि अनशनरत अधिकारकर्मी रुबी खानले अनशन तोडेकी छन्।
मङ्गलबार सरकार र आन्दोलनरत महिला अधिकारकर्मीबीच सहमति भएको हो। सहमतिसँगै सरकारले बाँके घटनाको छानबिन गर्न समिति गठन गरेको छ भने अधिकारकर्मी खानले अनशन तोडेकी छन्।
उनी बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता सम्बन्धी घटनाको छानबिन गर्न माग गर्दै अनशनमा बसेकी थिइन्। नन्कुन्नी र निर्मलामाथि भएको अन्याय छानबिन गर्ने र समितिले दिएको सुझाव पालना गर्न सरकार तयार भएपछि उनले अनशन स्थगित गरेको जनाएकी छन्।
आन्दोलनरत अधिकारकर्मीसँग भएको सहमति अनुसार छानबिन समिति गठन गरिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिएका छन्। समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ।
प्रवक्ता पोखरेलका अनुसार, गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा छानबिन समिति गठन भएको छ। नेपाल प्रहरीका उपरीक्षक रामप्रकाश साह, राष्ट्रिय अनुसन्धानका निर्देशक वीरेन्द्रसिंह कार्की, गृह मन्त्रालयका उपसचिव रामप्रसाद लम्साल, आन्दोलनरत पक्षका तर्फबाट मोहम्मद शेर बागवान र जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत प्रतिनिधि रहेको समिति गठन गरिएको हो।
दुवै घटनाको छानबिन गरी दोषीलाई कारबाही माग गर्दै अधिकारकर्मीहरू बाँके जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बसेका थिए। १९ दिनसम्म धर्नामा बस्दा पनि सुनुवाइ नभएपछि उनीहरू २० दिन हिंडेर काठमाडौं आएका थिए।