यस्ता छन् माओवादी केन्द्रका चार गुट
नेकपा (माओवादी केन्द्र)मा संस्थापन, पूर्व एकता केन्द्र, पूर्व माओवादी र खुदरिया गरी चार गुट क्रियाशील छन्।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा झाङ्गिंदै गएको गुटबन्दी अन्त्य गर्न आग्रह गरेका छन्।
पेरिसडाँडास्थित पार्टी मुख्यालयमा सोमबार शुरू भएको स्थायी समिति बैठकमा बोल्दै दाहालले गुटबन्दीले पार्टीलाई खोक्रो बनाएको बताएका हुन्। दाहाललाई उद्धृत गर्दै बैठकमा सहभागी एक स्थायी समिति सदस्यले भने, “यसरी नै पार्टीभित्र गुट क्रियाशील भइरहने हो भने आगामी चुनाव हाम्रा लागि निकै चुनौतीपूर्ण हुने देख्छु।”
माओवादी प्रवक्ता कृष्णबहादुर महराले भने प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण, विभागहरू गठन लगायत विषयमा छलफल भएको जानकारी दिए।
कुन गुटको नेता को?
माओवादी पार्टीभन्दा पनि विभिन्न पार्टीहरूको केन्द्र जस्तो भएको माओवादी नेताहरूको टिप्पणी छ। अध्यक्ष दाहालले गत साउन पहिलो साता कसलाई मन्त्री बनाउने भन्ने कुराले आफू निकै मानसिक तनावमा परेको बताएका थिए।
सूर्यनाथ रान यादवको स्मृति दिवसमा आयोजित अर्को कार्यक्रममा बोल्दै दाहालले आफूहरूलाई ‘अरूले माओवादी होइन खाओवादी भन्ने’ गरेको धारणा राखेका थिए।
पार्टीभित्र गुट-उपगुट सक्रिय भएपछि नै दाहालले यस्तो अभिव्यक्ति दिने गरेको माओवादी नेताहरू बताउँछन्। शेरबहादुर देउवा नेतृत्वको सरकारमा कसलाई पठाउने भन्ने छलफल हुँदा चार गुट स्पष्ट देखिएको हो। माओवादीमा संस्थापन, पूर्व एकता केन्द्र, पूर्व माओवादी र खुदरिया गरेर चार वटा गुट क्रियाशील छन्।
संस्थापन पक्षको नेतृत्व दाहाल आफैंले गर्छन्। पूर्व एकता केन्द्रको नेतृत्व नारायणकाजी श्रेष्ठले गर्छन् भने विभिन्न समयमा माओवादी छाडेर पुनः माओवादीमा फर्किनेहरूको नेतृत्व मातृका यादवले गर्दै आएका छन्।
माओवादीमा एकीकृत भएका साना वाम पार्टीहरूको नेतृत्व पूर्व मन्त्री गणेश साहले गर्छन्। यो गुट पार्टीभित्र खुदरिया (खुद्रा) गुटले परिचित छ। साह नेकपा (संयुक्त)बाट आएका हुन्।
“टीका लगाएर पार्टी एकीकरण त गरियो, तर योग्यता अनुसारको जिम्मेवारी पाइएन,” पूर्व एकता केन्द्रबाट आएका एक स्थायी समिति सदस्य भन्छन्, “बाहिरबाट हेर्दा सबै माओवादी जस्तो देखिए पनि अन्तरघुलित हुुन सकेका छैनौं।”