घान्द्रुक दुर्घटना: गोंगबुका ७ युवा सहित ८ जनाको मृत्यु
कास्कीको घान्द्रुकमा बोलेरो दुर्घटना हुँदा काठमाडौंको गोंगबुका सात युवा सहित आठ जनाको मृत्यु भएको छ।
काठमाडौंबाट घान्द्रुक जाँदै गरेको ग.१ज ६९०० नम्बरको बोलेरो कास्कीको अन्नपूर्ण गाउँपालिका-१० हुदुको भीरमा दुर्घटना भएको हो। दुर्घटनामा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रदेश प्रहरी कार्यालयका अनुसार, दुर्घटनामा काठमाडौं महानगरपालिका-३ गोंगबुका १८ वर्षीय जिनलब घिसिङ, २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुमन चौधरी, २२ वर्षीय अच्युतम काफ्ले, १८ वर्षीय आशिष आले र २७ वर्षीय विनय क्षेत्रीको मृत्यु भएको छ।
त्यस्तै, बोलेरो चालक कास्कीको अन्नपूर्ण गाउँपालिका-५ का ४२ वर्षीय खुशीमान क्षेत्रीको पनि दुर्घटनामा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा काठमाडौं महानगरपालिका-३ गोंगबुका २० वर्षीय देवी घिसिङ घाइते भएका छन्। उनी भीरमा अड्किएका थिए। प्रहरी र स्थानीय बासिन्दाले उनलाई उद्धार गरेका हुन्। उनी सामान्य घाइते छन्।
प्रहरीका अनुसार, भीरको बाटोमा बोलेरो अनियन्त्रित हुँदा दुर्घटना भएको हो। उनीहरू काठमाडौंबाट दशैं बिदामा घुम्न घान्द्रुक जाँदै थिए।